रफाह । अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सम्झौताको शर्तहरूअन्तर्गत हमासले थप दुई इजरायली बन्धकको शव हस्तान्तरण गरेको छ । बाँकी शव फिर्ता गर्न उसले थप समय मागेको बताइएको छ ।
बाँकी बन्धकहरूको शव पत्ता लगाउन र फिर्ता गर्न विशेष उपकरण आवश्यक पर्ने हमासको सशस्त्र शाखाको भनाइ छ । हमासले सम्झौताको पालना गरेन भने इजरायली सेनाले गाजामा पुनः लडाईं सुरु गर्न सक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेकै समयमा हमासको यो प्रतिक्रिया आएको हो ।
रेडक्रसबाट बन्धकहरूको शवहरू भएको कफिनहरू प्राप्त त भएको तर तिनीहरूको आधिकारिक पहिचानको प्रक्रिया चलिरहेको इजरायली प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्तिमा भनेको थियो ।
जनतालाई संवेदनशीलता देखाउन र आधिकारिक पहिचानको प्रतीक्षा गर्न आग्रह गर्दै यसको सूचना सबैभन्दा पहिले मृतक बन्धकहरूको परिवारलाई दिइने पनि विज्ञप्तिमा भनिएको छ । गाजा शान्ति योजनाको पहिलो चरण अन्तर्गत, हमासले कुल २८ बन्धकहरूको शव फिर्ता गर्नु पर्ने छ ।
बुधबार राति फिर्ता गरिएका दुई शवहरू इजरायली बन्धकहरूको भएको पहिचान भयो भने हमासले इजरायललाई दिएको बन्धक शवहरूको कुल सङ्ख्या नौ पुग्नेछ ।









































