वि.सं.२०८३ वैशाख १८ शुक्रवार

समाजवादी मोर्चा विघटन गरौँ भन्ने तहमा किन पुगे विप्लव ?

khanepani

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीलाई लिएर मोर्चाको औचित्यमाथि प्रश्न उठाइरहेको बेला हिजो समाजवादी मोर्चा बैठक बस्यो ।

तर, हिजोको बैठकमा विप्लवले मोर्चा नै विघटन गर्ने प्रस्ताव राखिदिए । यसअघि नै प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपाललाई भेटेर यो कुराको जानकारी गराएका विप्लवले हिजोको बैठकमा औपचारिकरूपमा नै प्रस्ताव राखेका हुन् ।

विप्लव अहिले मोर्चाको संयोजक छन् । हिजोको बैठकमा प्रचण्डसँग विप्लव अलिक असन्तुष्ट नै सुनिएका थिए । राजनीतिक घटनाक्रम विकसित भइरहेको बेलामा अहिले मोर्चालाई विघटन गर्दा बाहिर राम्रो सन्देश नजाने भन्दै प्रचण्ड-माधवले विप्लवलाई मनाएका थिए ।

बैठकपछि बाहिरिँदै सञ्चारकर्मीसँग प्रचण्डले भनेका थिए, ‘मोर्चाको औचित्य सकिएको छैन, अब क्रियाशील भएर आउँछ ।’

नेकपाका प्रवक्ता प्रकाण्डले देशमा व्यापक निराशा र आक्रोश बढेकाले त्यसलाई सम्बोधन गर्ने गरी कार्यक्रम बनाउने निर्णय भएको बताए । उनले मोर्चाबारे प्रश्न उठेको स्वीकार्दै आत्मसमीक्षासहित भदौको अन्ततिर देशव्यापी संघर्षको कार्यक्रम लिएर जाने निर्णय गरेको पनि बताए ।

उनले भने, ‘हाम्रो सीमालाई निर्ममतापूर्वक सच्याउनुपर्छ। देश अप्रिय स्थितिमा पुगिरहेको छ । डरलाग्दो निराशावादमा गएको छ । समाजवादी मोर्चालाई अहिलेको वस्तुस्थितिमा समाजवादी दिशामा लैजानुपर्छ । अर्को देशलाई समाजवादी दिशामा लैजान अन्य पार्टी र समूहसँग छलफल र बहस गरी अगाडि बढाऊँ । फरक ढङ्गले विस्तार गर्दा तार्किक र व्यवहारिक रूपमा लैजाऔँ भन्ने निष्कर्ष छ ।’

पछिल्लो दिनमा मोर्चामाथि केही प्रश्न उठेको बताउँदै जनता र पार्टीका नेता कार्यकर्ताको अपेक्षा पूरा गर्ने कुरामा कमजोरी देखा परेको उनले सुनाए ।

उनले थपे, ‘मोर्चाले जुन ढङ्गले गति लिनुपर्थ्यो । जनता र मोर्चामा सहभागी पार्टीका नेता र कार्यकर्ताका अपेक्षा, इमानदार नेता कार्यकर्ताको अपेक्षालाई सशक्तरूपमा परिपूर्ति गर्ने काममा केही सीमा रहे ।’

मोर्चालाई प्रचण्डले आफ्नो स्वार्थअनूकूल प्रयोग गरेको नेकपाको पछिल्लो निष्कर्ष छ । प्रचण्डसँगको विप्लवको अर्को असन्तुष्टि दुई पार्टीबीच एकतासँग पनि जोडिएको छ ।

विप्लवले माओवादीसँग एकता गर्ने औपचारिक निर्णय पार्टीबाट गराएको भएपनि प्रचण्डकै कारणले सम्भावना टर्दै गइरहेको नेकपाको निष्कर्ष छ ।

प्रचण्ड अहिले विप्लवसँग भन्दा पनि मोर्चामा रहेका नेकपा एकीकृत समाजवादी र नेपाल समाजवादीसँग तत्कालै एकताको पक्षमा छन् । तर, दुवै पार्टी पर्ख र हेरेको अवस्थामा छन् । नेसपाको गंगानारायण पक्षलाई भने प्रचण्डले पार्टीमा समाहित गराइसकेका छन् ।

आगामी निर्वाचनमा होमिने निर्णयसहित अघि बढेका विप्लवले मोर्चाले अपेक्षित फाइदा पुग्न नसक्ने देखेपछि विघटनको प्रस्ताव गर्ने तहसम्म पुगेको एक नेताले बताए । तर, प्रचण्ड-माधवले मोर्चा नै विघटन गरौँ भन्ने विप्लवलाई नै संयोजक निरन्तरता दिने गरी अब कार्यक्रम गर्ने निर्णयमा पुगे ।

मोर्चाका एक नेताले भने, ‘प्रचण्डले यो मोर्चालाई प्रयोग गरेर आफूअनुकूल फाइदाको लागि मात्रै प्रयोग गरिरहेको हाम्रो बुझाइ हो । अब प्रभावकारी ढङ्गले चलाउने सहमति भएपछि उहाँ तयार हुनुभएको छ, हेरौँ अब कसरी अघि बढ्छ ।’

यता प्रचण्ड पनि विप्लवको पछिल्लो गतिविधिप्रति सशङ्कित छन् । मोर्चा निष्क्रिय हुँदा विप्लवले माओवादीका उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मालाई बेग्लाबेग्लै भेटेका थिए ।

पार्टीभित्रको असन्तुष्टि चलिरहेको बेलामा विप्लवलाई भित्र्याउँदा आन्तरिक समीकरणमा अफ्ठेरो स्थिति आउनसक्ने देखेर नै प्रचण्डले तत्काल विप्लवसँग एकता नचाहेको हुनसक्ने एक नेताले बताए । विप्लव पार्टीका मात्रै होइन, एमालेका महासचिव शंकर पोखरेलसँग पनि हालैमात्रै भेटेका थिए ।

महासचिव देव गुरुङले मोर्चा कसैको व्यक्तिगत स्वार्थको लागि नबनेको दाबी गरे ।

उनले भने, ‘यो प्रचण्डले आफ्नो स्वार्थको लागि प्रयोग गरे भन्ने कुरा सत्यताभन्दा बाहिरको कुरा हो । बेकार र वाहियात कुरा हो । समान विचार राख्नेहरुबीच सहमतिको आधारमा मोर्चा बनेको हो । कसैको व्यक्तिगत स्वार्थको आधारमा हुँदैन । यो सामान्य जानकारी नराख्नेहरूले उठाएका हुन् ।’

मोर्चालाई प्रभावकारी र क्रियाशील बनाउने बैठकले निष्कर्ष निकाले पनि बताए ।

उनले थपे, ‘सहमत हुने घटकहरूलाई सहभागी गराउँदै जाने भन्ने कुरा भएको छ । विघटनको कुनै कुरा भएको छैन । विप्लवजीले त्यस्तो भनेको मैले सुनेको छैन। थाहा छैन ।’

प्रचण्डले कांग्रेससँग सत्ता सहकार्य हुँदा आफूलाई मोर्चाको बलमा सांसद सङ्ख्या धेरै देखाउनको लागि गठन गरेका थिए । मोर्चा गठन गर्ने बेलामा जसपा नेपाल पनि सहभागी थियो । तर, अहिले उपेन्द्र यादव प्रचण्डसँग चिढिएर बाहिरिइसकेका छन् ।

ranechhap