काठमाडौं । रसुवाको टिमुरे खोलाबाट बेपत्ता भएका तीन प्रहरीमध्ये एक जनाको शव चितवनको १५ किलोस्थित त्रिशूली नदीमा भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गोविन्द पुरीका अनुसार असई लालबहादुर श्रेष्ठको शव त्रिशूली नदीमा तैरिएको अवस्थामा भेटिएको हो । उनको शवको एउटा खुट्टामा प्रहरीको बुट भएकोले उनी ड्यूटीमै थिए भन्ने खुलेको एसपी पुरीले बताए ।
एसपी पुरीका अनुसार उनको शवलाई भरतपुर अस्पतालमा ल्याइएको छ । उनकाे श्रीमतीले श्रेष्ठको पहिचान गरेपछि उनी टिमुरेबाट बाढीमा बेपत्ता असइ भएको खुलेको एसपी पुरीले बताए ।
सेनाको हेलिकोप्टर प्राविधिक समस्यापछि चिनियाँ भूमिमा ल्याण्ड

भोटेकोशी नदीमा आएको बाढीबाट विस्थापित नेपाली नागरिकको उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर प्राविधिक समस्याका कारण चिनियाँ भूमिमा ल्याड गरेको छ ।
रसुवागढी नजिक चिनियाँ भूमिमा अवतरण गराइएको उक्त हेलिकोप्टरमा मेकानिकल समस्या देखिएपछि आजलाई उतै रोकिएको नेपाली सेनाले जनाएको हो ।
सीमापारि पनि उद्धार गर्नुपर्ने आवश्यकता भएकाले हेलिकोप्टर चीनतर्फ गएकोमा प्राविधिक समस्याका कारण हेलिकोप्टर अवतरण गर्नुपरेको र मर्मतपछि फर्किने नेपाली सेनाका सूचना अधिकारीसमेत रहेका सहायक रथी राजाराम बस्नेतले जानकारी दिए ।
बाढीका कारण चीनतर्फ अलपत्र परेका करिब एक सय ५० जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानमा लैजान हेलिकोप्टर खटिएको थियो ।









































