काठमाडौं । सरकारले सुनमा लगाएको विलासिता करका कारण उपभोक्ताले तोलामै १२ हजार मूल्य थप पर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै सुनचाँदी व्यवसायीले यस्तो जानकारी दिएका हुन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीका अनुसार नेपाल सरकारले २०८२–८३ को बजेट वक्तव्य मार्फत सुन तथा सुनका गहनामा लागु गर्न खोजेको २ प्रतिशत विलासिता कर पटक्कै पिच्छेको बिक्रीमा लागू हुने बहु कर प्रणाली (राउन्ड ट्रिपिङ) हो । झट्ट सुन्दा २ प्रतिशत जस्तो मात्र लागे पनि व्यवहारमा भने ग्राहकहरूको लागि कमसेकम ६ प्रतिशतको हाराहारीमा थप मूल्य तिर्नुपर्ने बाध्यकारी कर प्रणाली हो ।
यस अनुसार मानौँ २ लाख रुपैयाँ मूल्यको सुन बैंकले सुन डिलरलाई २ प्रतिशत विलासिता करसहित बेच्दा २ लाख ४ हजार रुपैयाँमा बेच्छ । सुन डिलरले पसलेलाई फेरि ४ हजार थपी २ लाख ८ हजारमा बेच्छ । यही सामान पसलेले ग्राहकलाई फेरि बिलासिता कर ४ हजार थपी २ लाख १२ हजार रुपैयाँमा बेच्छ । यसरी २ लाखमा १ तोला सुन किन्न ग्राहकलाई १२ हजार पैसा थप्नुपर्ने बाध्य बनाउँछ । जुन बाध्यता विलासिता करले पार्ने अध्यक्ष रसाइलीको भनाई छ ।
‘सुनको मूल्य आकासिएर मन्दी भइरहेको समयमा बजेटको यो वर्तमान व्यवस्थाले सुन बजारलाई अझ महामन्दीतर्फ अग्रसर बनाउँछ । यसले सुन बजारमा पुनः फिर्ता बिक्रीको प्रचलनमा नराम्रोसँग बाधा पुर्याउँछ’, उनले भने ।
विलासिता करले सुनको बिक्री दर र खरिददरको अन्तरलाई अझ फराकिलो बनाउने व्यवसायीले जनाएका छन् । सुन फिर्ता बिक्री गर्दा गत वर्षको भन्दा प्रतितोला थप १२ हजार घाटा हुने पक्का भएपछि उपभोक्ताहरू सुन किन्न आकर्षित नहुने उनीहरूको तर्क छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट मार्फत सुनमा विलासिता कर र हीरामा मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेको छ । बजेटले गरेको विलासी करको व्यवस्था अव्यवहारिक रहेको व्यवसायीको भनाइ छ ।
त्यस्तै, सुनका गहनामा प्रयोग हुने बहुमूल्य पत्थर र हीरामा लागू गर्न खोजिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज हुनुपर्ने व्यवसायीको माग रहेको छ । यस्तो माग राख्दै उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए । उक्त भेटमा प्रधानमन्त्रीको आश्वासन पाएपछि सुनचाँदी व्यवसायीहरूले आन्दोलन रोकेका छन् ।
प्रधानमन्त्री ओलीले व्यवसायीको माग पूरा गर्न आश्वासन दिँदै आन्दोलनको बाटोमा नलाग्न आग्रह गरेका थिए । प्रधानमन्त्रीको भेटपछि सटर बन्द गरेर आन्दोलन गरेका व्यवसायीले अहिले आन्दोलन रोकेर पसल खोल्न थालेका छन् ।









































