काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले कक्षा १२ को परीक्षाफल विगतको तुलनामा निकै छिटो सार्वजनिक हुनुलाई सरकारको सुशासनप्रतिको दृढ प्रतिबद्धता र शैक्षिक सुधारको महत्त्वपूर्ण फड्कोका रूपमा व्याख्या गरेका छन् ।
शुक्रबार मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा उनले नतिजा प्रकाशनमा गरिएको तदारुकताले समग्र शैक्षिक क्यालेन्डरमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका हुन् ।
मन्त्री पोखरेलले यस वर्ष कक्षा १२ को नतिजा परीक्षा सम्पन्न भएको ४० दिनभित्रै सार्वजनिक गर्न सफल भएको जानकारी दिए । विगतमा नतिजा सार्वजनिक गर्न तीन महिना भन्दा बढी समय लाग्ने गरेकोमा यस पटक प्रशासनिक प्रक्रियालाई चुस्त बनाउँदै छोटो अवधिमै काम सम्पन्न गरिएको उनको भनाइ छ ।
नतिजा ढिलो आउँदा विश्वविद्यालयको भर्ना, कक्षा सञ्चालन र परीक्षा समेत पछाडि धकेलिने गरेको स्मरण गर्दै मन्त्रीले अब विश्वविद्यालयहरूलाई पनि समयमै परीक्षा लिन र नतिजा प्रकाशन गर्न यसले प्रेरित गर्ने उल्लेख गरे । त्रिभुवन विश्वविद्यालय लगायतका अन्य विश्वविद्यालयहरूले यस वर्षदेखि भर्ना र पठनपाठनको कार्यतालिका अगाडि नै सुरु गर्ने तयारी गरिसकेको जानकारी पनि उनले दिए ।
मन्त्रालयको कार्यदक्षता सम्झिँदै उनले भने, ‘यो केवल दिनको कटौती मात्र नभई सुशासनको एउटा बलियो उदाहरण हो । यसले अनावश्यक प्रशासनिक झमेलाहरूलाई हटाउँदा ४० दिनमै नतिजा ल्याउन सकिन्छ भन्ने प्रमाणित गरेको छ । यसबाट विश्वविद्यालयको भर्ना प्रक्रिया र शैक्षिक सत्र पनि समयमै सुरु हुने सुनिश्चितता भएको छ ।’
परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीलाई बधाई दिँदै मन्त्रीले नतिजालाई जीवनको एउटा खण्डका रूपमा मात्र लिन र सोचेजस्तो नतिजा नआएका विद्यार्थीलाई विचलित नहुन आग्रह गरे । उनले पूरक (ग्रेड वृद्धि) परीक्षाको तयारीमा जुट्न हौसला दिँदै आगामी शैक्षिक यात्राका लागि नेपालकै विश्वविद्यालयहरूमा पर्याप्त तयारी र अवसरहरू उपलब्ध रहेको बताए ।








































