वि.सं.२०८२ जेठ १ बिहीवार

देउवाले भने, ‘सरकारले न विगतका गल्तीबाट सिक्छ, न सल्लाह आत्मसात गर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पीसीआर परीक्षण बढाउन र संक्रमितहरुको उपचारका लागि आईसीयू भेन्टिलेटरसहित बेड व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रबार आफ्नै निवास बूढानीलकण्ठमा पत्रकार सम्मेलन गरी देउवाले सरकारको लापरवाही र अकर्मण्यताका कारण आईसीयू, भेन्टिलेटर बेडहरुको अभाव हुन थालेको बताएका हुन् ।

सरकारले विगतको गल्तीबाट नसिकेको र सरोकारावालाहरुले दिएको सुझावलाई समेत आत्मसात नगरेको भन्दै उनले भनेका छन्,‘अधुरा कामलाई नै पुरा भएको भन्दै उद्घाटन, भिडभाड र तकडभडमा मग्न ओली सरकारले संक्रमण रोक्न कुनै ठोस काम नगरेकाले फेरि लकडाउन गर्ने स्थितिमा पुगेको छ ।

परीक्षण नगरी उपत्यका छाड्न दिँदा लाखौं मानिस जिल्ला जिल्ला पुगेको र यसले संक्रमण व्यापक बन्नसक्ने भन्दै उनले निषेधाज्ञाको सदुपयोग गर्न माग गरेका छन् ।