काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी एकतालाई दीर्घकालीन रूपमा अघि बढाउन आह्वान गरेका छन् । साथै उनले जननेता मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्ने कमजोरी आफूहरूभित्रै रहेको समेत बताए।
मदन भण्डारीको ७५औँ जन्मजयन्तीका सन्दर्भमा आइतबार राष्ट्रिय सभा गृहमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’लाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन् ।
‘मदन भण्डारी र जीवराज आश्रितको हत्या षडयन्त्रपूर्ण र कायरतापूर्वक गरिएको हो’, पूर्वप्रधानमन्त्री खनालले भने, ‘ती हत्यारा को हुन्, कसले गरेको थियो ? त्यो पत्ता लगाउन नसक्ने कमजोरी हामीभित्रै छ ।’
उनले जसरी मदन र जीवराज आश्रितको हत्याको षडयन्त्र रचियो त्यो नेपालको कम्युनिस्ट आन्दोलनलाई निस्तेज पार्ने घोर षडयन्त्र र कायरता रहेको बताए । उनले त्यस्तो षडयन्त्र अझै जारी रहेकाले सतर्क हुन जरुरी रहेको पनि बताए ।
नेता खनालले मदन भण्डारीले नयाँ जनवादी क्रान्तिका कालमा मदनले जुन कार्यदिशा अघि सारे पनि अहिले समाजवादी क्रान्तिका लागि वामपन्थीहरूले सोही किसिमको नीति अघि सार्नुपर्ने बताए ।
‘वामपन्थी एकता आज मात्र होइन, अनेक कालखण्डदेखि आवश्यक थियो तर बिचमा हाम्रो कहिले सिङ पलायो कहिले जुरो पलायो’, उनले भने, ‘बाध्यात्मक परिस्थिति सिर्जना भएको छ । अब यही दिनबाट वामपन्थी एकतालाई दीर्घकालीन रूपमा अघि बढाऔँ ।’
उनले आजको आवश्यकता वामपन्थी एकता रहेको समेत बताए।
त्यसक्रममा नेता खनालले समाजवादी क्रान्ति र रूपान्तरणको काममा सही ढङ्गले अघि बढ्न सकिए मात्रै मदनप्रतिको सही सम्मान हुने बताए ।
‘युग बदलिएको छ, नेपाली समाजका प्रधान अन्तर्विरोध बदलिएको छ, यस्तो अवस्थामा पुरानै कुरा सम्झेर बस्यौँ भने लक्ष्यमा पुग्न सक्दैनौँ’, उनले भने, ‘मदन भण्डारी राष्ट्रवादी हुनुहुन्थ्यो । त्यसबेला संसद्मा उहाँ नभएको भए टनकपुरको गलत सम्झौता असफल पार्न सकिँदैन थियो।’
वर्तमान सरकार हुनेखानेको सरकार भएको भन्दै गत भदौ २३ र २४ को घटना कुनै जनआन्दोलन नभएर नेपाली जनतामाथिको षड्यन्त्र भएको नेता खनालले बताए।
गत भदाैको आन्दोलनले जेनजीहरूको भविष्य समेत जलेको बताए।जेनजी भाइबहिनीहरूको भविष्य समेत जलेको बताए।








































