काठमाडौं । वैदेशिक रोजगार विभागले २५ वर्षदेखि थन्किएका मुद्दा तथा अनुसन्धानका हजारौँ फाइल खोजी गरी तिनको व्यवस्थापन र फर्छ्यौटका लागि डिजिटलाइजेसनको काम सुरू गरेको छ ।
युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगार ठगीका मुद्दा उच्च प्राथमिकतामा राख्दै निरन्तर सक्रिय रहन निर्देशन दिएसँगै महानिर्देशक मीरा आचार्यले लामो समयदेखि अलपत्र अवस्थामा रहेका फाइलहरूलाई व्यवस्थित गर्न अभियान थालेकी छन् ।
२०५६ सालमा श्रम तथा रोजगार प्रवर्द्धन विभाग स्थापना भएदेखि र पछि २०६४ सालमा वैदेशिक रोजगार विभाग गठन भएपछि दर्ता भएका हजारौँ उजुरी तथा अनुसन्धानका फाइलहरु विभागका कुनामा थन्किएका थिए ।
यो अभियान अन्तर्गत २०५७ सालदेखिका महत्त्वपूर्ण फाइल फेला परेको छ । हालसम्म ती पुराना र डम्प अवस्थामा रहेका हजारौँ फाइलहरूको खोजी गरी सालबसाली रूपमा अभिलेख तयार गर्ने काम सम्पन्न भइसकेको विभागले जनाएको छ ।
अहिले विभागले ती फाइलहरूको स्क्यानिङ गरी डिजिटल प्रतिलिपि तयार गर्ने कार्यलाई अघि बढाइरहेको छ । ती मुद्दाको अनुसन्धान चुस्त र पारदर्शी बनाउन डिजिटल ट्र्याकिङ प्रणाली विकास गरिने बताइएको छ ।








































