वि.सं.२०८३ असार ५ शुक्रवार

चन्द्र ढकालको अपील-आर्थिक सुधारलाई मूल मन्त्र बनाएर सबैजना लागौं

khanepani

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक सुधारलाई मूल मन्त्र बनाएर सबैजना लाग्नुपर्नेमा जोड दिएका छन् । दसैँतिहारलगायतका चाडपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले बैंक तथा वित्तीय संस्थामा भएको करिब ५ खर्ब रकमलाई लगानी गरेर बजारमा माग सिर्जना गर्ने अवस्थामा पुर्‍याउनुपर्ने बताए ।

‘पछिल्ला दुई दसैँ नेपाली उद्यमी व्यवसायीका लागि त्यति उत्साहजनक रहेनन् । मूलतः हाम्रा आफ्नै नीतिका कारण हामी समस्यामा परेका हौं । आजको पावन अवसरमा म विगतलाई कोट्याएर निरास बन्न र यहाँहरूलाई पनि निरासामा राख्न चाहन्न’, उनले भने ।

अर्थतन्त्रमा सुधारका केही किरण देखिन थालेको भन्दै उनले प्रधानमन्त्री प्रचण्डबाट आर्थिक सुधारका लागि उच्चस्तरिय आयोग गठन गर्ने प्रतिबद्धता आएकोले आशा गर्ने ठाउँ रहेको बताए ।

यस्तो छ ढकालले गरेको सम्बोधनको पूर्णपाठ
सम्माननीय सभामुखज्यू
माननीय उपसभामुखज्यू
राजनीतिक दलका अध्यक्ष एवं उच्च पदाधिकारीज्यूहरु
माननीय मन्त्रीज्यूहरु
माननीय सांसदज्यूहरु
सचिवज्यूहरु एवं उच्च पदस्थ अधिकारीज्यूहरु
नेपाली सेना, नेपाल प्रहरी एवं ससस्त्र प्रहरीका प्रमुख एवं उच्च पदस्थ अधिकारीज्यूहरु नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श लगायत विभिन्न संस्थाका अध्यक्ष एवं पदाधिकारीज्यूहरु

संचारमाध्यामका प्रतिनिधिज्यू एवं संचारकर्मी साथीहरु
महिला तथा सज्जनवृन्द

नेपालीहरुको महान चाडहरु वढादसैँ, तिहार, छठ एवं नेपाल सम्वतका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको यस शुभकामना आदानप्रदान कार्यक्रममा यहाँहरुको उपस्थितिका लागि हार्दिक धन्यवाद दिंदै आभार व्यक्त गर्दछु ।

धार्मिकसंगै सांस्कृतिक र आर्थिक महत्व बोकेका हाम्रा यी चाडवाड एक अर्कामा भाइचारा अभिवृद्धि गर्दै शुख शान्ति एवं समृद्धिको कामना गर्ने अवसर पनि हुन् । राम्रो लाउने र मिठो खाने अवसरका रुपमा समेत हेरिने यी चाडवाडलाई उत्साह र उमंगका साथ परिवारसंगै बसेर मनाउन सकिने अवसरको सिर्जना गर्ने प्रयत्नमा हामी लागेका छौ ।

लगानी बढाऔं र स्वदेशमै बढिभन्दा बढि रोजगारी सिर्जना गरौं भनेर महासंघले निरन्तर गरिरहेको पहल यसैका लागि हो । कोही पनि चाडवाडका बेला परिवारबाट टाढा नहोस् । दसैँं दशाको रुपमा नभइ उत्साहका रुपमा सबै नेपालीको घरमा भित्रियोस भन्ने हाम्रो चाहना हो ।

त्यसका लागि रोजगारीका पर्याप्त अवसर सिर्जना गरेर गरिबी हटाउनुपर्छ । रोजगारीका लागि लगानी आवश्यक हुन्छ । त्यो लगानी स्वदेशीले मात्र पुग्दैन विदेशी लगानी पनि चाहिन्छ। त्यसैको खोजीमा अहिले हामी जुटेका छौ ।

पछिल्ला दुइ दसैँ नेपाली उद्यमी व्यवसायीका लागि त्यति उत्साहजनक रहेनन् । कारण यहाँहरुलाई थाहै छ । मूलतः हाम्रा आफ्नै नीतिका कारण हामी समस्यामा परेका हौं । आजको पावन अवसरमा म विगतलाई कोट्याएर निराश वन्न र यहाँहरुलाई पनि निराशामा राख्न चाहन्न ।

अबको दिनमा अर्थतन्त्रमा सुधारका केहि किरण देखिन थालेका छन् । सम्माननीय प्रधानमन्त्रीज्यूले आर्थिक सुधारका लागि उच्चस्तरिय आयोग गठन गर्ने कुरामा गत असोज २५ गते महासंघको कार्यक्रममा प्रतिवद्धता जनाउनुभएको छ ।

उक्त आयोगले तात्कालीन सुधारका लागि सबैतिर समन्वय र सहकार्य गर्नुका साथै नया पुस्ताको सुधारको खाका बनाउनेछ। यसमा निजी क्षेत्रको प्रतिनिधित्व अनिवार्य रुपमा रहने गरि व्यवस्था गर्नुपर्ने हाम्रो आग्रह हो ।

हामीले प्रस्ताव गरेको उक्त संयन्त्रले अन्य कुनै निकायको जिम्मेवारी खोस्ने छैन् । यसमा आवश्यक कर्मचारी सम्बन्धित निकायबाट नै लिन सकिन्छ । अर्थ, उद्योग मन्त्रालय, योजना आयोग एवं नेपाल राष्ट बैंकको उच्च नेतृत्व यसमा रहनु आवश्यक हुने हाम्रो सुझाव हो ।

अर्थतन्त्रका वाह्य परिसूचक र तरलताको अवस्थामा सुधार भएको अहिलेको अवस्थामा समन्वयात्मक रुपमा अगाडि बढन सकियो भने हामी सुधारको नयाँ चरणमा प्रवेश गर्नेछौ ।

किनभने अहिले आयात गर्न पर्याप्त संचिति छ । संचितिसंगै चालु खाता र सोधनान्तर अवस्थामा सकारात्मक रहेको हुँदा विदेशी लगानीकर्तालाई पनि ढुक्क हुने अवस्था छ । रेमिट्यान्सले बजार चलायमान बनाइ राख्ने नै छ ।

बैंक वित्तिय संस्थाहरुसंग करिब ५ खर्ब रुपैया छ । उनीहरु लगानी गर्न तयार छन र हामीले थोरै सुधार गर्यौ भने ब्याजदर पनि कम हुँदै जानेछ । यसले बजारमा माग सिर्जना गर्ने नै छ ।

तर यसका लागि नीतिगत सुधार र स्थायत्विमा पूर्व शर्त हुन् । उच्चस्तरिय आयोगले त्यसको प्रत्याभूति गर्नेछ । अब हामीले सुधारका लागि ढिलाई गर्नु हुँदैन । विश्वमा विभिन्न युद्धहरुले अनिश्चितता सिर्जना गर्दै गैरहेको छ । हाम्रो युवा उमेर अबको लाभ अबको ३० बर्षमा लिन सकिने छैन । त्यसैले सुधारका लागि सबै मिलेर पहल गरौं हाम्रो भविष्य उज्वल छ । हामी पौरखी छौ । हामीले गर्न सक्छौ । अब आर्थिक सुधारलाई मूल मन्त्र बनाउ । बडादसैँ लगायतका चाडवाडको अवसरमा म यहाँहरु सबैलाई यहाँ पाल्नुभएकोमा आभार प्रकट गर्दै उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।

ranechhap