काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल भूराजनीतिक खेलको ‘रणमैदान’ हुन नहुने बताएकी छन् । चिनियाँ सञ्चार माध्ययम ग्लोबल टाइम्सलाई एक अन्तर्वार्ता दिँदै उनले नेपाल द्विपक्षीय सौहार्द सहकार्य दर्साउने ‘बगैंचा’ हुनुपर्ने तर भूराजनीतिक खेलको ‘रणमैदान’ हुन नहुने बताएकी हुन् ।
चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको पछिल्लो नेपाल भ्रमणका उपलब्धीबारे ग्लोबल टाइम्सलाई प्रतिक्रिया दिँदै उनले नेपाल चीनको असल छिमेकी र मित्र रहेको बताएकी छन् । ‘दुई देशले सधैं एक-अर्काको सार्वभौमिकता र अखण्डताको सम्मान गर्ने गरेको छ । कसैले पनि अर्को देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरेका छैनन्,’ यान्छीले भनेकी छन्, ‘अहिलेको विश्व महामारीको अवस्थाबाट बाहिर निस्किएर आर्थिक र सामाजिक विकासका लागि लाग्नुपर्ने चुनौती रहेको छ ।’
चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको भ्रमणले नेपाल चीनका लागि कति महत्त्वपूर्ण छिमेकी हो भन्ने पनि दर्साएको राजदूत यान्छीले बताएकी छन् । ‘नेपालले आफ्नो आवश्यकताअनुसार तय गरेको विकासमार्गमा चीनको सदैव साथ र समर्थन रहनुका साथै नेपालको आन्तरिक र बाह्य परराष्ट्र नीतिलाई चीनले समर्थन गर्ने र नेपालको बीआरआईमा सामेल हुने निर्णयलाई चीनको समर्थन रहेको परराष्ट्रमन्त्री वाङ यीले सन्देश दिनुभएको छ,’ उनले भनेकी छन् ।
यस्तै नेपाल-चीन रेल्वेमार्ग विकास गर्ने योजनामा लामो समयदेखि प्रगति नभएको भन्ने प्रश्नको उत्तर दिँदै उनले दुई देशबीच रेल्वेमार्ग बनाउनका लागि कामहरू भइरहेको र दुई देशका रेल्वे विभागबीच पत्रचारहरु भएको दाबीसमेत गरेकी छन् । उनले पूर्व सम्भाव्यता अध्ययनलगायत केही महत्त्वपूर्ण कामहरू भएको पनि बताइन् ।
राजदूत यान्छीले नेपालमा सडक, विमानस्थल, जलविद्युत् आयोजनाजस्ता ठूला पूर्वधार विकासका लागि चीनले सहयोग गरिरहेको र बीआरआईले यो सहकार्यलाई नयाँ उचाइ दिने पनि बताएकी छन् । उनले नेपालले आफ्नो विकासका लागि अन्तर्राष्ट्रिय क्षेत्रबाट सहयोग लिन सक्ने र त्यसले नेपाल-चीनको सम्बन्धमा कुनै फरक नपर्ने पनि स्पष्ट पारेकी छन् ।
‘नेपाल अल्पविकसित मुलुक हो; त्यसैले विकासका लागि विभिन्न स्रोतहरुबाट सयहोग लिएर आफ्नो अर्थतन्त्रलाई अगाडि बढाउन सक्छ,’ एमसीसी बीआरआईको प्रतिस्पर्धी योजना रहेको भन्ने प्रश्नको उत्तर दिँदै राजदूत यान्छीले भनेकी छन्, ‘हामीलाई आशा छ अन्तर्राष्ट्रिय जगतले पनि नेपालको राष्ट्रिय विकास लक्ष्यलाई हासिल गर्ने मनसाय मात्रै राखेर सहयोग गरेका छन् ।’








































