काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश प्रदेशमा सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको दाबी गरेका छन् ।
सोमबार जनकपुरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।
बजेट ल्याउने बेलामा मधेश प्रदेशका कुनै पनि सांसदहरूले सरकार परिवर्तन गर्नेकुरा सोच्न पनि नसक्ने मुख्यमन्त्री यादवको जिकिर थियो ।
उनले बजेट ल्याउने बेलामा सरकार परिवर्तन गरिए त्यो मधेश प्रदेशका लागि दुर्भाग्य हुने चेतावनी समेत दिए ।
मुख्यमन्त्री यादवले भने, ‘मलाई विश्वास छ–यो सरकार अगाडि बढ्दैछ । र अहिलेको परिवेशमा यो बजेट सञ्चालनको पिक आवर हो । बजेट बनाउने पूर्वसन्ध्यामा हामी छौं । यसमा कसैले सरकार परिवर्तन गर्ने मनसाय बनाएको रहेछ भने यो प्रदेशका लागि दुर्भाग्य हुन्छ । र यो मधेशका लागि पनि दुर्भाग्य हुन्छ । सबै दलका नेता सजग छन् । दलका सांसद मित्रहरू सबै सचेत हुनुहुन्छ । सरकार परिवर्तनमा उहाँहरू लाग्नु हुन्न । त्यो पक्का हो ।’
मुख्यमन्त्री यादवले सबै दलहरू सरकार परिवर्तन गर्न नहुने अडानमा रहेको पनि दाबी गरे ।







































