काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा कैलालीको धनगढीमा निर्मित नेपाल प्रहरी विद्यालयको बहुउद्देश्यीय हल, छात्रावास तथा शिक्षक भवनको भारतीय दूतावासका प्रथम सचिव नवीनकुमार र सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले संयुक्तरूपमा उदघाटन गरेका छन् ।
बुधबार आयोजित समारोहमा कैलाली जिल्ला समन्वय समिति, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय सरकारका अधिकारीहरूको उपस्थिति थियो ।
यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “India@75 आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरू मध्येको एक हो ।
भारत सरकारको आर्थिक सहयोगमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत नेरु. ४ करोड २२ लाख ६० हजारको लागतमा यी नयाँ भवनहरूको निर्माण भएका हुन् ।
सन् १९८५ मा स्थापना भएको यो विद्यालयमा हाल ६६५ जना विद्यार्थीहरूअध्ययनरत छन् ।
सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेको छ भने ४६७ वटा परियोजनाहरू सम्पन्न गरिसकेको छ । ती परियोजनाहरू मध्ये कैलाली जिल्लाका ८ गरी सुदूरपश्चिम प्रदेशमा ३२ वटा परियोजना रहेका छन् ।
यसको अलावा, भारत सरकारले कैलाली जिल्लाका लागि ८ वटा एम्बुलेन्स र ७ वटा विद्यालय बस उपहार स्वरुप प्रदान गरिसकेको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।
“नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच बहुपक्षीय र बहुक्षेत्रीय विकास साझेदारी रहेको छ । भारत–नेपाल विकास सहकार्य अन्तर्गत निर्माण भएको यस नवनिर्मित संरचनाले शिक्षाको क्षेत्रमा नेपाल सरकारका प्रयासहरुलाई अझ सशक्त बनाउन भारत सरकारले पुर्याउँदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ” दूतावासले भनेको छ ।








































