काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा निर्वाचित सोम शर्माले आफ्नो नाम सूचीबाट हटाइएपछि पार्टीको निर्वाचन आयोगमा उजुरी दिएका छन् ।
शर्माले आइतबार निर्वाचन आयोगलाई पत्र लेख्दै आफूलाई हटाइनु अन्यायपूर्ण र विधानविपरीत भएको दाबी गरेका हुन् ।
गण्डकी भूगोलबाट केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा शर्मा ९९३ मत प्राप्त गरी चौथो स्थानमा विजयी भएका थिए । निर्वाचन आयोगले उनलाई निर्वाचित भएको घोषणा समेत गरिसकेको थियो । तर, हाल आएर कुनै पूर्वसूचना र स्पष्टीकरणबिना नै आफ्नो नाम नामावलीबाट हटाइएको भन्दै उनले आपत्ति जनाएका छन् ।
पार्टीको विधानको दफा २२(४) क अनुसार समावेशिता सुनिश्चित गर्नुपर्ने भए पनि गण्डकीको हकमा पहिलो पाँचभित्रै दुई जना महिला (पवित्रा थापा र पूजा बास्तोला) निर्वाचित भइसकेकाले थप क्लस्टर मिलाउन कसैलाई विस्थापित गर्नुपर्ने अवस्था नरहेको शर्माको तर्क छ ।
उनले भनेका छन्, ‘चौथो उच्च मत प्राप्त उम्मेदवारलाई हटाएर मत परिणाम उल्ट्याउने कार्य विधानको मर्म र निर्वाचनको आधारभूत सिद्धान्तसँग मेल खाँदैन ।’
शर्माले आफूलाई हटाइनु केवल व्यक्तिको विषय मात्र नभई आफूलाई विश्वास गरेर मतदान गर्ने ९९३ जना प्रतिनिधिहरूको जनमतको अवमूल्यन र अपमान भएको बताएका छन् । उनले पार्टीभित्रको लोकतान्त्रिक मूल्य, विधि र संस्थागत विश्वसनीयतामाथि नै यसले गम्भीर प्रश्न खडा गरेको उल्लेख गरेका छन् ।
आफूमाथि भएको अन्याय तत्काल सच्याउन र आफ्नो वैधानिक निर्वाचित हैसियत कायम गर्न उनले जोडदार माग गरेका छन् ।
यदि मेरो मागलाई बेवास्ता गरिएमा आफ्नो संवैधानिक, राजनीतिक तथा कानुनी अधिकारको संरक्षणका लागि उपलब्ध सम्पूर्ण कानुनी उपचार र न्यायिक प्रक्रियाको अवलम्बन गर्न म बाध्य हुनेछु,’ शर्माले निवेदनमा लेखेका छन् ।







































