काठमाडौँ । रुसी राष्ट्रपति व्लादिमिर पुटिनले जापानले आफ्नो भूभाग भएको दाबी गर्दै आएको विवादित कुरिल द्वीप समूहको पहिलोपटक भ्रमण गरेका छन् । बिहीबार भएको भ्रमणका क्रममा पुटिनले द्वीपमा रहेको माछा प्रशोधन केन्द्रको निरीक्षण गरेका थिए । क्रेमलिनले उनको भ्रमणसँग सम्बन्धित दृश्यसमेत सार्वजनिक गरेको छ ।
पुटिनको भ्रमणप्रति जापानले कडा आपत्ति जनाएको छ । प्रशान्त महासागरमा रहेका चारवटा द्वीपलाई लिएर रूस र जापानबीच करिब ८० वर्षदेखि विवाद हुँदै आएको छ । जापानले यी द्वीपलाई ‘उत्तरी क्षेत्र’ भन्दै आफ्नो भूभाग दाबी गर्दै आएको छ भने रूसले आफ्नो कुरिल द्वीप समूहको हिस्सा मान्दै आएको छ । चार द्वीपमा कुनाशिर, इतुरुप, शिकोतान र हाबोमाई पर्छन् ।
दोस्रो विश्वयुद्धको अन्तिम चरणमा सन् १९४५ मा तत्कालीन सोभियत संघले यी द्वीपमा नियन्त्रण कायम गरेको थियो । त्यसपछि त्यहाँ रहेका करिब १७ हजार जापानी नागरिकलाई हटाइएको थियो । रणनीतिक रूपमा महत्वपूर्ण स्थानमा रहेका कारण सोभियत संघले त्यहाँ हवाई तथा नौसैनिक संरचना निर्माण गरेको थियो । अहिले पनि रूसले यी क्षेत्रमा ठूलो संख्यामा सैनिक तथा आधुनिक सैन्य उपकरण राख्दै आएको छ । द्वीपमा करिब २० हजार मानिस बसोबास गर्छन् ।
अत्यधिक चिसो हुने यी क्षेत्रमा माछाको ठूलो भण्डारसँगै खनिज स्रोतसमेत रहेकाले आर्थिक र सामरिक दुवै दृष्टिले महत्वपूर्ण मानिन्छ । यही विवादका कारण दोस्रो विश्वयुद्धपछि अन्य धेरै देशले शान्ति सम्झौता गरे पनि रूस र जापानबीच अहिलेसम्म औपचारिक शान्ति सम्झौता हुन सकेको छैन । सन् १९५६ मा रूस र जापानबीच कूटनीतिक सम्बन्ध पुनःस्थापना भएपछि विवाद समाधानका लागि पटक-पटक वार्ता भए पनि सहमति हुन सकेन । तत्कालीन सोभियत नेता निकिता ख्रुश्चेभले शान्ति सम्झौताको बदलामा शिकोतान र हाबोमाई जापानलाई फिर्ता गर्ने प्रस्ताव गरेका थिए । तर जापानले चारवटै द्वीप फिर्ता हुनुपर्ने अडान राख्दै आएको छ ।
सन् १९९१ मा सोभियत संघ विघटन भएपछि पनि रूस र जापानबीच विवाद समाधानका लागि विभिन्न चरणमा वार्ता भए । सन् २०१० मा तत्कालीन रुसी राष्ट्रपति दिमित्री मेदभेदेभले विवादित द्वीपको भ्रमण गरेका थिए । त्यसपछि रूसले त्यहाँ आफ्नो सैन्य उपस्थिति थप बलियो बनाउँदै आएको छ । युक्रेन युद्धपछि रूस र जापानबीचको सम्बन्ध थप तनावपूर्ण बनेको अवस्थामा पुटिनको पछिल्लो भ्रमणलाई विवादित द्वीपमा रूसको दाबी पुनः स्पष्ट पार्ने कदमका रूपमा हेरिएको छ ।






































