काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अविरल वर्षाका कारण रोल्पाको थवाङ गाउँपालिका–५, कोतलाबाङमा गएको भीषण पहिरोमा परी ७ जनाको निधन र ५ जना बेपत्ता भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
पार्टीका महामन्त्री विपिन कुमार आचार्यद्वारा बिहीबार जारी विज्ञप्तिमा विपद्मा परी अकालमा ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गरेको हो । साथै, रास्वपाले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ताहरूको प्रभावकारी खोजी र उद्धारका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
‘यस विपद्मा परी अकालमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ताहरूको प्रभावकारी खोजी कार्यका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँछौँ’, विज्ञप्तिमा भनिएको छ ।
यसैगरी, रास्वपाले संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारलाई विपद्को पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन, जोखिमयुक्त बस्तीहरूको पहिचान गरी सुरक्षित स्थानान्तरण गर्न तथा प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र निःशुल्क उपचारको व्यवस्था मिलाउन समन्वयकारी भूमिका खेल्न आग्रह गरेको छ।







































