वि.सं.२०८३ जेठ २२ शुक्रवार

पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’

khanepani

काठमाडौँ । पूर्वमन्त्री ओमप्रकाश अर्यालले लोकतान्त्रिक व्यवस्थामा पद सोपान भन्दा पनि कार्यक्षमता र सिर्जनशीलताको वातावरण महत्त्वपूर्ण हुने बताएका छन्।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले लोकतन्त्र र गणतन्त्रले सबै नागरिकका लागि सम्भावनाका ढोका खोलेको दाबी गरेका हुन् ।

वर्तमान व्यवस्थामा सबैलाई समान अवसर रहेको स्पष्ट पार्दै उनले निजामती सेवाबाट राजनीतिमा आएका व्यक्तिको उदाहरणसमेत पेस गरे। केही समयअघिसम्म निजामती सेवाको छैटौँ तहमा रहेका कर्मचारी अहिले सांसद मात्र नभई मन्त्रीसमेत बनेको दृष्टान्त दिँदै अर्यालले यो व्यवस्थाले जो कोहीलाई पनि अघि बढ्ने अवसर दिएको उल्लेख गरे।

‘हामीले हाम्रोमा हाइ रार्की भन्दा पनि कार्यक्षमता र सिर्जनशीलताको वातावरण बनायौँ, र त्यसले गर्दा परिणाम आएको हो,’ उनले भने, ‘कतिपय साथीहरू डेढ–दुई महिना अगाडिसम्म छैटौँ तहका कर्मचारी हुनुहुन्थ्यो, अहिले सांसद मात्र होइन, मन्त्री पनि हुनुभएको छ। त्यसैले अब यो मुलुक, यो गणतन्त्र र लोकतन्त्रमा सबैका लागि सम्भावनाका ढोका खुलेका छन्।’

पूर्वमन्त्री अर्यालले कसैलाई पनि विनाआधार मानमर्दन गर्न नहुने भन्दै सबैलाई सन्देहको लाभ दिनुपर्ने धारणा राखे। यत्तिकै दोषारोपण गरेर अरूको चरित्र हत्या गर्दै अगाडि बढ्दा मुलुक नबन्ने उनको जिकिर छ। गृह प्रशासनको कार्यशैलीबारे चर्चा गर्दै उनले प्रशासनले पनि प्रमाणका आधारमा मात्र आलोचना गर्ने वा कारबाही अगाडि बढाउने गरेको दाबी गरे।

कुनै पनि व्यक्तिविरुद्ध प्रतिकूल प्रमाण नभेटिएसम्म दोषी करार गर्न नहुने उनको तर्क छ। उनले भने, ‘कहीँ गल्ती, कमी–कमजोरी गरेको छ भने प्रमाणका आधारमा कारबाही हुनुपर्‍यो। तर यत्तिकै दोषारोपण गरेर, अरूको मानमर्दन गर्दै अगाडि बढ्दा मुलुक बन्दैन। प्रमाण देख्यो भने आलोचना गर्‍यो होला, प्रतिकूल प्रमाण देखेन भने बेनिफिट अफ डाउट दिएर काम गरेको हो।’

समाजमा अझै पनि विना आधार अरूको मानमर्दन र दोषारोपण गर्ने क्रम जारी रहेको भन्दै उनले चिन्ता व्यक्त गरे। यद्यपि, लोकतन्त्र सुदृढ हुँदै जाँदा यस्ता नकारात्मक प्रवृत्तिहरू स्वतः रोकिँदै जाने उनको विश्वास छ। वर्तमान सरकारले पनि यस विषयमा विशेष रूपमा ध्यान दिने र आगामी दिनमा राजनीतिक तथा प्रशासनिक वातावरण थप सुधार हुनेमा आफू आशावादी रहेको अर्यालले बताए।

ranechhap