काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको संसदीय चुनावमा एकल बहुमत प्राप्त गरेको दल अहिलेसम्म ५ वर्ष नटिकेको बताएका छन्।
राप्रपा गोरखाको जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै रास्वपाले दुई तिहाइ मत पाउँदा जनतामा आशा र भरोसा भने बढेको बताए।
उनले भने, ‘नेपालको राजनीतिमा हामीले नबिर्सिनु पर्ने र खासगरी अहिलेको जित्यौँ भन्नेहरूले नबिर्सिनु पर्ने कुरा के छ भने जब जब नेपालको संसदीय चुनावमा कुनै पनि राजनीतिक दलले संसद्मा एकल बहुमत प्राप्त गर्यो, त्यो संसद्ले ५ वर्ष काम गरेको छैन र ५ वर्ष टिकेको छैन। २०१५ सालमा, २०४८ सालमा, २०५६ सालमा, २०७४ सालमा यस प्रकारका बहुमत संसद्मा विभिन्न राजनीतिक दलहरूले प्राप्त गरे। तर ती कुनै पनि संसद् ५ वर्ष टिकेनन्।’
रास्वपाको एकल बहुमत प्राप्त गरेपनि सरकार ५ वर्ष सरकार जान्छ भन्नेमा ढुक्क हुने अवस्था नभएको बताए।
उनले थपे, ‘यो सरकारका प्रारम्भिक क्रियाकलापहरू हेर्दा हामी आश्वस्त हुने ठाउँहरू भेटिँदैन। हिजो अस्ति चुनावमा हारेका राजनीतिक दलले अहिले नै, यति चाँडै प्रतिक्रिया व्यक्त गर्ने बेला भएको छैन। तर भोलि फेरि पनि भन्छु, प्रारम्भिक लक्षणहरू ठिक छैन। प्रधानमन्त्री संसद्मा नजाने, आफैँले प्रस्तुत गरेको, आफैँले नीति कार्यक्रम पढ्दापढ्दै बीचैमा निस्किएर हिँड्ने देखि लिएर, छापा मार्ने शैलीमा फेरि संसद्मा आउने।’
उनले सरकार अपरिपक्व ढङ्गले चलिराखेको टिप्पणी गरे।







































