काठमाडौँ । नेपाल मामिलाका जानकार भारतीय प्रोफेसर एसडी मुनीले प्रधानमन्त्री बालेन्द्र शाहले भारतसँगको सीमा विवाद अन्तर्राष्ट्रियकरण गर्न खोजेको भन्दै यो प्रतिउत्पादक हुने टिप्पणी गरेका छन् ।
सामाजिक संजालमा टिप्पणी गर्दै मुनीले प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा समस्या एकतर्फी नभएको भन्दै खुलेर स्वीकार गरेकोमा उनको साहसिक कदमका लागि बधाई दिनुपर्ने भएपनि यस विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयास भने उल्टै प्रतिउत्पादक हुने टिप्पणी गरेका छन् ।
उनले भनेका छन्- ‘प्रधानमन्त्री बालेन शाहले नेपाल–भारत सीमा समस्या एकतर्फी नभएको भन्दै खुलेर स्वीकार गरेकोमा उनलाई साहसिक कदमका लागि बधाई दिनुपर्छ । भारतसँगको सीमा विवाद सधैं एकतर्फी नभएको र सुस्तामा नदीको धार परिवर्तनका कारण भारतीय भूमि नेपालमा रहेको छ । तर यस विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने उनको प्रयास भने उल्टै प्रतिउत्पादक हुन्छ ।’
आइतबार प्रतिनिधि सभामा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा लिपुलेकको विषयमा भारत, चीन र इङल्याण्डसँग समेत कुरा गर्ने बताएका थिए ।





































