वि.सं.२०८३ जेठ १५ शुक्रवार

सुदूरपश्चिममा कांग्रेसकै सांसदले मागे मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा

khanepani

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई राजीनामा दिन कांग्रेसकै सांसदले आग्रह गरेका छन् ।

स्वास्थ्य अवस्था, पार्टीभित्र पैदा भइरहेको तीव्र असन्तुष्टि र सभापति गगन थापालाई स्वीकार गर्न नसकेको भन्दै राजीनामा गर्न आग्रह गरिएको कांग्रेस सांसद दिवानसिंह विष्टले जानकारी दिए ।

‘केही दिन पहिले मैले नै उहाँलाई भेटेर अब राजीनामा दिनुहोस्, तपाईँप्रति तीव्र असन्तुष्टि पैदा भइरहेको छ भनेको थिएँ,’ मुख्यमन्त्रीसँग भएको संवादबारे विष्टले भने, ‘उहाँले सङ्ख्या पु¥याउनुहोस्, म हट्छु भन्नुभएको थियो ।’

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८ सांसद छन् । आफ्नो विपक्षमा १० सांसदको समर्थन जुटाउन सकेको दिन आफूले राजीनामा दिने बताएको विष्टले जानकारी दिए ।

‘मैले दलको नेताबाट हटाउँदा सन्देश राम्रो जाँदैन, तपाईँ आफैले राजीनामा दिएर मलाई प्रस्ताव गर्नुहोस् भनेको थिएँ । उहाँले आफूले राजीनामा दिए पनि दलको नेतामा अर्को व्यक्ति उठ्न सक्ने सङ्केत गर्नु भएको थियो । मैले हुन्छ भनेको छु, ’ उनले भने ।

केही दिन अघिसम्म आधा दर्जन सांसदहरूले मुख्यमन्त्रीको विकल्प खोजिरहेका थिए । तर अहिले त्यो सङ्ख्या बढेको कांग्रेसनिकट स्रोतले जानकारी दिएको छ ।

आज पनि केही सांसदहरूले मुख्यमन्त्री शाहलाई भेट्ने जनाएका छन् । भेटेरै मुख्यमन्त्रीलाई राजीनामा दिन आग्रह गर्ने गर्ने त्यसो नभए दलको नेता परिवर्तनसम्मको छलफल सुरु गर्ने कांग्रेसका एक सांसदले बताए ।

स्रोतका अनुसार केन्द्रका केही नेताहरूले पनि मुख्यमन्त्री शाहलाई मार्ग प्रशस्त गर्न सुझाव दिइसकेका छन् । केही दिन पहिले कांग्रेस प्रदेश समितिले आयोजना गरेको भेलामा केन्द्रीय सभापति गगन थापाविरुद्ध चर्को आलोचना भइरहेको भन्दै केन्द्रले त्यसको आरोप पनि मुख्यमन्त्रीलाई लगाएको बताइएको छ ।

‘पहिले बजेटपछि सरकार परिवर्तनको छलफल भइरहेको थियो । धनगढीको भेलापछि अहिले परिवर्तन गर्नुपर्छ भन्ने आवाज पनि बलियो भएको छ,’कांग्रेसका एक पदाधिकारीले भने, ‘उहाँले राजीनामा दिँदा राम्रो हुन्छ भन्ने कुरा हो । नत्र प्रदेशका माननीयज्यूहरूले बहुमत पु¥याएर हटाउनेसम्मका कुरा गरिरहनु भएको छ ।’

केन्द्रमा सत्ता समीकरण तीव्र तयारी भइरहेको छ । यता प्रदेशमा मुख्यमन्त्रीको विकल्पको छलफल जारी छ ।

केही समय अघि कांग्रेस सभापति गगन थापाले केन्द्रमा एमालेसँगको छलफल पछि मात्रै प्रदेश सरकार हेरफेरको हुने सङ्केत गरेका थिए । केन्द्रमा अहिले पनि दुई दलीय र तीन दलीय संवाद जारी रहे पनि निष्कर्ष भने आइसकेको छैन ।

नेकपाले सुदूरपश्चिममा आफ्नो सबै भन्दा ठूलो दल रहेको भन्दै मुख्यमन्त्री दाबी गरेको छ । कांग्रेसले तीन दल मिल्दा प्रतिपक्ष नहुने भन्दै दुई दललाई नै जोड दिइरहेको छ । एमालेले भने पुराना शक्तिहरू मिलेर लोकतन्त्र रक्षा गर्नुपर्ने अवस्था रहेको बताउँदै आइरहेको छ ।

ranechhap