काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले अवकाश प्राप्त सैनिकहरू समाजका उर्जा र आदर्श भएको बताएका छन्। महोत्तरीको बर्दिवासस्थित मध्य पृतना हेडक्वार्टरमा आयोजित ‘भूतपूर्व सैनिक भेटघाट तथा पुनर्मिलन कार्यक्रम’ लाई सम्बोधन गर्दै उनले सेनाको संस्थागत हित र राष्ट्रको सार्वभौमिकता रक्षाका लागि अवकाश प्राप्त सैनिकहरूले पुर्याएको योगदान अविष्मरणीय रहेको उल्लेख गरेका हुन् ।
नेपाली सेनाका अवकाश प्राप्त सकल दर्जालाई समाजमा एक जिम्मेवार, अनुशासित र मर्यादित नागरिकका रूपमा प्रस्तुत हुँदै स्थानीय स्तरमा उत्पादनशील र उद्यमी बन्न उनले आग्रह गरे। नेपाली सेनाको कल्याणकारी कोषका सुविधाहरूलाई विकेन्द्रिकृत, पारदर्शी र परिणाममुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दै उनले शिक्षा, स्वास्थ्य, स्वरोजगार र सीप विकासका क्षेत्रमा हिताधिकारीहरूको पहुँच विस्तार भइरहेको जानकारी दिए।
प्रधानसेनापति सिग्देलले देशको आन्तरिक सुरक्षा, विकास निर्माण, विपद् व्यवस्थापन र अन्तर्राष्ट्रिय शान्ति स्थापनामा नेपाली सेनाले खेलेको भूमिकाले संस्थालाई विश्वमै विश्वसनीय र सम्मानित बनाएको दाबी गरे। हालै सम्पन्न आम निर्वाचनलाई सुरक्षित र निष्पक्ष रूपमा सम्पन्न गराउन सेनाले देखाएको कार्यकुशलताको प्रशंसा गर्दै उनले स्थानीय स्तरमै सृजनशील बन्न अवकाश प्राप्त सैनिकहरूलाई उत्प्रेरित गरे।
कल्याणकारी कार्यमा दिगो नतिजा प्राप्त गर्न अवकाश प्राप्त सैनिकहरूको सुझाव र सहकार्य अपरिहार्य रहेको उनको ठहर छ। सम्मेलनमा सहभागीहरूले प्रदर्शन गरेको उत्साहपूर्ण मार्च पासले उनीहरूमा अझै पनि सैनिक जोश र राष्ट्रप्रतिको प्रतिबद्धता जीवितै रहेको झल्काएको भन्दै उनले सेवारत सैनिकहरू यसबाट थप उर्जावान भएको बताए।
नेपाली सेनाले नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न इतिहासदेखि नै अतुलनीय योगदान दिएको चर्चा गर्दै सिग्देलले पुर्खाहरूको बलिदानलाई स्मरण गरे। वर्तमान र भविष्यका चुनौतीहरूको सामना गर्न सक्ने सक्षम संस्थाका रूपमा सेनालाई विकास गरी भावी पुस्तामा हस्तान्तरण गर्नु सबैको साझा दायित्व भएको उनले प्रस्ट पारे।
सेनाको व्यावसायिक चरित्र र निष्पक्षताले विश्व सामु नेपाल र नेपालीको शीर उच्च राख्न उल्लेखनीय योगदान दिएको उनको भनाइ छ। कल्याणकारी कोषले विस्तार गरिरहेको सञ्जालमा अनुशासित र व्यवस्थित तवरले आबद्ध रहन आग्रह गर्दै उनले ‘बहुजन हिताय, बहुजन सुखाय’ को आदर्श वाक्यलाई आत्मसात् गरी हिताधिकारीहरूको जीवनस्तर सुधार गर्न प्रयास जारी रहेको बताए।
कल्याणकारी कार्यहरूलाई विवरणमुखी भन्दा पनि परिणाममुखी, आत्मनिर्भर र आयमूलक बनाउन आवश्यक देखिएको भन्दै प्रधानसेनापतिले यसका लागि सरकारसँगको समन्वय वा आन्तरिक स्रोतबाट हरसम्भव प्रयास भइरहेको जानकारी दिए। सैनिक व्यक्ति सेवामा रहँदा मात्र नभई अवकाशपछि पनि समाजको रोल मोडल बन्नुपर्नेमा उनले जोड दिए।
सम्मेलनमा मध्य पृतना अन्तर्गतका विभिन्न जिल्लाबाट आएका अवकाश प्राप्त सैनिक तथा उनीहरूका परिवारजनको उल्लेख्य उपस्थिति रहेको थियो। यस वर्षको सम्मेलन ‘भूतपूर्व सैनिक सम्मेलनको प्रण, पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ भन्ने मूल नाराका साथ आयोजना गरिएको हो।









































