वि.सं.२०८३ वैशाख २२ मंगलवार

एपस्टाइनका आपराधिक गतिविधिबारे मलाई जानकारी थिएन- बिल क्लिन्टन

khanepani

काठमाडौँ । अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनले जेफ्री एपस्टाइन प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । न्युयोर्कमा संसदीय समितिसमक्ष बन्द कोठामा दिएको बयानका क्रममा उनले एपस्टाइनका आपराधिक गतिविधिबारे आफूलाई कुनै जानकारी नभएको स्पष्ट पारेका हुन् ।

क्लिन्टनले लिखित प्रारम्भिक वक्तव्यमा एपस्टाइनका गतिविधिबारे थाहा भएको भए आफूले तत्काल सम्बन्ध तोड्ने मात्र नभई प्रहरीसमक्ष बुझाउने बताएका थिए । उनले करिब दुई दशकअघि नै एपस्टाइनसँगको सम्बन्ध अन्त्य गरिसकेको र उनका अपराधबारे अनभिज्ञ रहेको दाबी गरेका छन् ।

बयानका क्रममा एक तस्बिरबारे पनि प्रश्न उठाइएको थियो, जसमा क्लिन्टन एक अज्ञात महिलासँग तातो पानीको पोखरीमा देखिएका छन् । ती महिलाको पहिचान गोप्य राखिएको छ । बयानमा क्लिन्टनले उक्त महिलालाई नचिनेको र उनीसँग कुनै व्यक्तिगत वा यौन सम्बन्ध नभएको बताएका छन् ।

यसअघि पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले पनि समितिसमक्ष बयान दिँदै एपस्टाइनका अपराधबारे आफूलाई जानकारी नभएको बताएकी थिइन् । प्रारम्भमा दुवैले बयान दिन असहमति जनाए पनि संसद अवमाननासम्बन्धी कारबाहीको सम्भावना देखिएपछि उनीहरू बयान दिन सहमत भएका थिए ।

समितिका अध्यक्ष जेम्स कोमरले क्लिन्टनको बयानको भिडियो तथा पूर्ण विवरण छिट्टै सार्वजनिक गरिने जानकारी दिएका छन् । उनका अनुसार क्लिन्टनले सोधिएका सबै प्रश्नको जवाफ दिएका वा जवाफ दिने प्रयास गरेका थिए ।

बयानका क्रममा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र एपस्टाइनबीचको सम्बन्धबारे पनि प्रश्न उठाइएको थियो । डेमोक्रेट सांसद रोबर्ट गार्सियाले क्लिन्टनको बयानबाट ट्रम्पसँग सम्बन्धित केही विषय बाहिर आएको दाबी गर्दै थप अनुसन्धान आवश्यक रहेको बताएका छन् ।

कोमरका अनुसार क्लिन्टनले ट्रम्पलाई समितिमा बोलाउने निर्णय समितिकै अधिकारभित्र पर्ने बताएका छन् । साथै ट्रम्प कुनै अपराधमा संलग्न रहेको जानकारी आफूलाई नभएको पनि उनले उल्लेख गरेका छन् । कोमरले करिब ५० वर्षपछि संसदसमक्ष बयान दिने क्लिन्टन पहिलो अमेरिकी राष्ट्रपति बनेको बताए ।

जेफ्री एपस्टाइनमाथि नाबालिग बालिकाको तस्करी तथा यौन शोषणका गम्भीर आरोप लागेका थिए । सन् २०१९ मा उनी न्युयोर्कस्थित कारागारमा मृत अवस्थामा फेला परेका थिए । सार्वजनिक भएका कागजातमा धेरै प्रभावशाली व्यक्तिहरूको नाम उल्लेख भए पनि नाम समावेश भएकै आधारमा अपराध पुष्टि नहुने जनाइएको छ ।

ranechhap