काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पब्लिक डिबेटका लागि तयार भएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नयाँ र पुराना सबै दल चुनावमा होमिएका बेला देश जलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा एमाले देश बनाउनेतर्फबाट मैदानमा छ।’
उनले सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएको र फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्ने बताएका छन् ।
उनले भनेका छन्, ‘यसपालिको निर्वाचनमा देशमा ऐतिहासिक भूमिका खेलेका दल, यसअघिको चुनावमा खुलेको दल र भर्खरै खुलेका केही नयाँ दल पनि प्रधानमन्त्रीको उम्मेदवार समेत तोकेर आएका छन्, देशको नेतृत्व गर्न खोज्ने दलहरुका एजेण्डा के छन्, देश निर्माणमा यस अघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ ? सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमनेसामने बहसको माग अत्यन्त सकारात्मक छ ।’
ओलीले भनेका छन्, ‘यस्तो पब्लिक डिबेटमा आमनेसामने उभिएर यस अघि हामीले के के गर्यौं भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु ।’
उनले चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेण्डा राख्ने प्रतिबद्धता जनाएका छन् र यस्तो पब्लिक डिबेट आयोजना गरेर सबै पक्षलाई ल्याउन आग्रह पनि गरेका छन् ।






































