वि.सं.२०८३ वैशाख ८ मंगलवार

अमेरिका बस्ने विष्टलाई कैलालीमा कांग्रेसको टिकट, ग्रिनकार्डबारे के भन्छन् ?

khanepani

कैलाली । मङ्गलबार कैलालीमा अन्य दलहरु उम्मेदवारी दर्ता गरिरहेका बेला नेपाली कांग्रेसले भने क्षेत्र नम्बर ४ को उम्मेदवारको खोजी गरिरहेको थियो । कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले यहाँ टिकट पाएका थिए । तर उनले अन्तिम समयमा टिकट बहिस्कार गरेपछि अर्को उम्मेदवार खोज्न कांग्रेसलाई सकस भयो ।

त्यसबीचमा लोकराज पाण्डे आगो, दिनेश जोशीलगायतले टिकट पाउने चर्चा नचलेको भने होइन तर कांग्रेसले गोरखबहादुर विष्ट (आनन्द) लाई टिकट दियो ।

आनन्द २ दशक भन्दा लामो समयदेखि अमेरिकामा स्थायी बसोबास गरेका व्यक्ति हुन् । उनी सन् २०१४ देखि कांग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापति रहेका छन् । लामो समयदेखि अमेरिका बस्दै आएका कारण उनीसँग ग्रीनकार्ड अर्थात कानूनी स्थायी बासिन्दा रहेको उनी निकट कांग्रेसकै नेताहरूले बताइरहेका छन् ।

‘उहाँ लामो समयदेखि अमेरिकामा बस्दै आइरहनु भएको छ, त्यहाँ सङ्गठनको सभापति हुनुहुन्छ, अर्को अधिवेशन पनि नगरी पद ओगटेको आरोप छ,’ कांग्रेसका एक नेताले भने, ‘उहाँसँग ग्रिन कार्ड नहुने त कुरै छैन ।’

अमेरिकाको ग्रिन कार्ड लिएका नेपाली सबै अमेरिकी पासपोर्टधारी भने हुँदैनन्, उनीहरूले अन्तर्राष्ट्रिय रूपमा यात्रा गर्दा नेपाली पासपोर्ट नै प्रयोग गर्नुपर्छ। यता नेपालको कानूनले भने यसरी विदेशको स्थायी आवासीय अनुमति पत्र दिएका व्यक्तिहरू निर्वाचन मनोनयन र नियुक्तिको लागि अयोग्य रहने ठहर गरेको छ।

‘यस संविधानमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेशको स्थायी आवासीय अनुमति पत्र लिएको नेपालको नागरिक यस संविधान बमोजिम निर्वाचन, मनोनयन वा नियुक्ति हुने पदमा निर्वाचित, मनोनीत वा नियुक्तिको लागि योग्य हुने छैन,’ संविधानको २९१ मा उल्लेख गरिएको छ ।

त्यसो भए ग्रिनकार्ड भएका व्यक्तिको उम्मेदवारी कसरी दर्ता भयो त ?

सहायक निर्वाचन अधिकृत गिरीराज भण्डारी भन्छन्, ‘पहिलो चरणमा हामीले अति आवश्यक कागजातहरू हेरेका थियौँ । त्यसमा योग्य देखिएपछि उम्मेदवारी दर्ता भएको हो ।’

आयोगले विशेषतः कालोसूचीमा रहे नरहेको, विभिन्न जरिवानाहरू परे नपरेको र मतदाता नामावलीमा नाम भए नभएको हेर्ने गरेको छ । यी विषयमा विष्टको कुनै समस्या नभएपछि उम्मेदवारी दर्ता भएको भण्डारीले बताए ।

संविधानमा त्यस्तो विदेशको स्थायी आवासीय अनुमति पत्र त्यागेको व्यक्तिलाई कम्तिमा तीन महिनाको अवधि व्यतित भएपछि त्यस्तो पदमा निर्वाचित, मनोनीत वा नियुक्त गर्न बाधा नपर्ने उल्लेख गरेको छ ।

यता चन्दले आफू उम्मेदवार नहुनु पर्ने कुनै कारण नरहेको बताएका छन् । ग्रीन कार्ड त्यागेको वा नत्यागेको बारे प्रष्ट नभने पनि उनले आफ्नो उम्मेदवारीमा कुनै समस्या नरहेको बताए ।

‘मेरो सबै कुरा ठिक छन्,’ उनले भने भने, ‘म उम्मेदवार नहुनु पर्ने कुनै कारण छैन ।’

मङ्गलबार उम्मेदवारी दर्ता गर्ने समयसम्म पनि उनी निर्वाचन कार्यालय पुग्न सकेनन् । उनको वारेस बनेर तेज खड्काले उम्मेदवारी दर्ता गराए । विष्टको प्रस्तावकमा मीन जोशी र समर्थकमा करण साउद छन् । यदि उनको उम्मेदवारीमा दावी विरोध परे निर्वाचन कार्यालयसमक्ष उनले ग्रीन कार्ड त्यागेको अवधि पुगेको निस्सा पेश गर्नुपर्नेछ ।

ranechhap