काठमाडौँ । स्वाभिमान पार्टीका संयोजक सत्यवान कुमार सिंहले बङ्गलादेशमा एक हिन्दु युवाको हत्या भएकोप्रति दुःख व्यक्त गरेका छन् ।
मंगलबार एक विज्ञप्तिमार्फत सिंहले यस्ता हिंसात्मक घटनाहरूले मानवता र सभ्यतामाथि गम्भीर प्रश्न चिह्न उठेको बताएका हुन् ।
यस्ता घटनाले नेपाल–र बङ्गलादेशबिच आपसी सद्भाव मात्र नभई नेपालभित्र पनि सामाजिक सहिष्णुता, धार्मिक सद्भाव र क्षेत्रीय शान्तिमा नकारात्मक असर पर्न सक्ने सिंहले बताएका छन् ।
‘बङ्गलादेशमा एक निर्दोष हिन्दु युवाको हत्या भएको खबरले गहिरो दुःख भएको छ । यसले शान्त र सहिष्णु समाजमा अनपेक्षित पीडा र आक्रोश उत्पन्न गरेको छ। धार्मिक पहिचानका आधारमा गरिने यस्ता हिंसात्मक घटनाहरूले मानवता र सभ्यतामाथि गम्भीर प्रश्न चिह्न ठड्याउँदै आएको छ’, उनले भनेका छन्, ‘यस्ता घटनाले नेपाल–बङ्गलादेशबिचको आपसी सद्भाव मात्र होइन, नेपालभित्र पनि सामाजिक सहिष्णुता, धार्मिक सद्भाव र क्षेत्रीय शान्तिमा नकारात्मक असर पार्न सक्छ। बङ्गलादेश सरकारसँग निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा कारबाही गर्न र दिवङ्गत युवाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना छ ।’







































