सिरहा । लहान नगरपालिकाले दलित बस्तीमा ट्युसन पढाउन आह्वान गरेको शिक्षकमा धेरै आकांक्षी देखिएका छन् । दलित बस्तीमा ट्युसन पढाउन ३५ शिक्षक माग हुँदा १ सय ५० जनाले आवेदिन दिँदै आफूहरु १० हजार रुपैयाँमा पढाउन तयार भएको बताएका हुन् । लहान नगरपालिकाले दलित तथा मुसहर बस्तीमा निःशुल्क ट्युसन कक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।
नगरपालिकाको शिक्षा शाखाले दलित बस्तीमा ट्युसन कक्षा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ तयार गरी कार्यक्रम अगाडि बढाएको हो ।
कार्यविधिअनुसार ट्युसन कक्षा सञ्चालनका लागि शिक्षक पदमा दरखास्त आह्वान गरिएकामा माग गरिएको ३५ पदका लागि करिब १ सय ५० जनाको आवेदन परेको शिक्षा शाखा अधिकृत अमिरी यादवले जानकारी दिए । ‘मागभन्दा धेरै दरखास्त परेपछि निष्पक्ष छनोटका लागि लिखित परीक्षा लिने निर्णय गरेका छौँ । पुस २५ गते लिखित परीक्षा आयोजना गरी शिक्षक छनोट गरिनेछ,’ उनले भने । उनका अनुसार शिक्षक छनोट गर्दा स्थानीय तथा सम्बन्धित समुदायका व्यक्तिलाई प्राथमिकता दिइनेछ । छनोट भएका शिक्षकलाई मासिक १० हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराइनेछ ।
लहान नगरपालिकाका २४ वटै वडामा करिब ८० टोल दलित तथा मुसहर बस्ती रहेको र ती बस्तीमै ट्युसन कक्षा सञ्चालन गरिने यादवले जानकारी दिए । ‘ट्युसन कक्षा बिहान वा बेलुका दैनिक दुई घण्टा सञ्चालन हुनेछ,’ उनले थपे ।
नगरपालिकाले गरेको सर्भेअनुसार ८० टोल दलित तथा मुसहर बस्तीमा करिब एक हजार २ सय दलित बालबालिका छन् । आगामी माघको पहिलो हप्ताबाट ट्युसन कक्षा सञ्चालन गर्ने तयारी गरिएको र कक्षा सञ्चालनपछि अनुगमनका लागि एक जना अनुगमनकर्ता पनि खटाइने शिक्षा शाखाले जनाएको छ ।
नगरप्रमुख महेशप्रसाद चौधरीका अनुसार चालु आर्थिक वर्ष २०८१–८२ का लागि निःशुल्क ट्युसन कक्षा सञ्चालन गर्न ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । ‘दलित तथा मुसहर बालबालिका विद्यालयमा नियमितता नहुने समस्या देखिएको छ । ट्युसन कक्षाले उनीहरूलाई पढाइमा निरन्तरता दिन सहयोग गर्ने विश्वास लिएका छौँ,’ नगरप्रमुख चौधरीले भने । नगरपालिकाले यो कार्यक्रममार्फत शिक्षाबाट पछि परेका समुदायका बालबालिकाको शैक्षिकस्तर उकास्ने लक्ष्य लिएको जनाएको छ ।









































