वि.सं.२०८३ असार १५ सोमवार

‘लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय स्वायत्तता र थप स्रोतसाधन आवश्यक’

khanepani

काठमाडौँ । महालेखा महालेखा परीक्षक तोयम रायाले लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय तथा सङ्गठनात्मक स्वायत्तता अपरिहार्य रहेको बताएका छन्। सोमबार महालेखा परीक्षक कार्यालयको ६८ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले लेखापरीक्षणलाई व्यवस्थित, पारदर्शी र गुणस्तरीय बनाउन सूचना प्रविधिको प्रयोग हुँदै आए पनि त्यसलाई अझ परिष्कृत गर्नुपर्ने आवश्यकता औँल्याए।

उनले सूचना प्रविधिमा आधारित प्रणालीलाई सुदृढ बनाउन थप स्रोतसाधन आवश्यक रहेको बताए। महालेखा परीक्षकको कार्यालयबाट सार्वजनिक हुने लेखापरीक्षण प्रतिवेदनप्रति जनअपेक्षा बढ्दै गएको उनको भनाइ छ ।

उनले कार्यालयले गुणस्तरीय लेखापरीक्षणमार्फत जनविश्वास कायम राख्ने र संस्थाको साख अभिवृद्धि गर्ने गरी कार्य व्यवस्थापन गरिएको जानकारी दिए।

उनले कार्यालयले चालु आर्थिक वर्षदेखि लागू हुने गरी रणनीतिक योजना २०८२/८३– २०८६/८७ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको जानकारी दिए। लेखा परीक्षणको क्रममा स्थलगत अनुगमन गर्ने गरेको उनले बताए ।

आगामी वर्ष प्रत्येक प्रदेशका तीन जिल्ला समेट्नेगरि २१ जिल्लामा लेखा परीक्षणको क्रममा स्थलगत अनुगमन गर्ने र सरोकारवालाहरूको गुनासो र सुझाव लिने बताए। उनले सार्वजनिक क्षेत्रको लेखापरीक्षणलाई पारदर्शी र प्रभावकारी बनाउन सरोकारवालाहरुसँग विभिन्न चरणमा छलफल गर्ने जानकारी दिए।

महालेखाले २०८१/८२ मा ५ हजार ५ सय २६ वटा निकाय तथा कार्यालयको ९४ खर्ब ८४ अर्ब ५० करोडको लेखा परीक्षण गरिएको जानकारी दिए ।

सोमध्ये वित्तीय लेखा परीक्षणतर्फ ८८ अर्ब ९ करोड ११ लाख रुपैयाँ बेरुजु कायम हुन आएको बताए । उनले प्रतिवेदन अवधिसम्म ६३ अर्ब १२ करोड ९५ लाख रुपैयाँ सम्परीक्षण भएको र सोमध्ये लेखा परीक्षण तथा सम्परीक्षणबाट १४ अर्ब ६३ करोड २७ लाख रुपैयाँ असुल भएको जानकारी दिए।

ranechhap