काठमाडौँ । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको विषयमा आपत्ति जनाउँदै तत्काल पुनर्विचार गर्न आग्रह गरेकी छन्।
दाहालले फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै नियमनको नाममा नियन्त्रण गर्ने प्रयास गलत भएको बताएकी हुन्। उनले सामाजिक सञ्जालसम्बन्धी विधेयक अहिले राष्ट्रिय सभामा अल्झिएको अवस्थामा प्रतिबन्ध लगाउने निर्णय अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सूचनाको अधिकारमाथि कुठाराघात हुने बताएकी छिन् ।
नियन्त्रण होइन, नियमन भने गर्नै पर्छ,’ उनले लेखेकी छन्, ‘प्रतिबन्ध लगाउनु लोकतान्त्रिक मूल्य-मान्यताको विरुद्ध हो।’
मेयर दाहालले सरकारले छिटो कानुनी निष्कर्षमा पुगेर सामाजिक सञ्जालसम्बन्धी उपयुक्त कानुन बनाउनुपर्नेमा जोड दिँदै लोकतान्त्रिक अभ्यासलाई सम्मान गर्न आग्रह गरेकी छन्।







































