काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी फुट्छ भन्ने प्रचारमाथिबाटै लगातार भइरहेको बताएका छन्। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सार्वजनिक रूपमै मतभेद छताछुल्ल भएपछि उनले विशेष महाधिवेशनमा पार्टीलाई केन्द्रित गराउनुपर्ने प्रस्ताव अघि सारेका हुन्।
शर्मा आगामी महाधिवेशनमा प्रचण्डलाई नेतृत्वमा चुनौती दिनेगरी अघि बढेका छन्। शर्माले भनेका छन्, ‘विगत दुई वर्षदेखि माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यतिबेला थप मलजल गर्दै पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती गर्नेहरूप्रति सचेत हुन आग्रह गर्दछु।’
गत वर्ष सबै प्रदेशहरूमा भएको परामर्श बैठक पश्चात् केन्द्रीय समितिको बैठकमा भएको बहस र निर्णय अनुसार असारदेखि प्रारम्भ गरेर ६ महिना भित्र अर्थात् मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको सन्दर्भमा अब पार्टीमा एजेन्डा केन्द्रित बहस गर्नुपर्ने भन्दै जसले पार्टीको पुनर्गठन, सुदृढ र व्यवस्थित गर्न मद्दत पुग्ने उल्लेख गरेका छन्।
पार्टी केन्द्रको निर्णय अनुसार हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) अभियानबाट आर्जेको ऊर्जालाई भिजिट भिसा प्रकरणमा सरकारसँग भएको २ बुँदे सहमति पश्चात् गिरेको पार्टीको साखलाई पुनमाथि उठाउन गम्भीर आत्मसमीक्षा गर्दै एजेन्डा केन्द्रित बहसमा केन्द्रित हुनुपर्ने बताए।
उनले थपेका छन्, ‘यतिबेला सिङ्गै देश, जनता र राजनैतिक पार्टीहरू गम्भीर सङ्कटबाट गुज्रिरहेका छन्। यसको समाधान संविधानको संशोधन, अर्थतन्त्रको पुनर्संरचना र पार्टीको पुनर्गठन नै हो।’
अर्थतन्त्रको पुन संरचनाले, संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख अर्थतन्त्रलाई नीतिगत व्यवस्थामा रूपान्तरण गर्दै, उत्पादन, वितरण तथा समावेशी विकासका नयाँ मानकहरू स्थापित गर्न मद्दत गर्ने बताए।
शमाले भनेका छन्, ‘यसले संकटग्रस्त अर्थतन्त्रमा सुधार ल्याउनेछ। आर्थिक उत्पादन र रोजगारीलाई सामाजिक तथा सांस्कृतिक रूपान्तरणको माध्यमबाट आत्मनिर्भर र सामाजिक न्याययुक्त समाजको जग खडा गर्न मद्दत पुग्दछ।’
देशमा बढ्दै गएको कुशासन, कानुन निर्माणमा देखिएका चलखेल, भ्रष्टाचारको बेलगाम वृद्धि, जनसरोकारका विषयहरूप्रति बेवास्ताले उत्पन्न निराशालाई चिर्न समस्याको पहिचान र समाधान दिने उनको भनाइ छ।संविधान संशोधनले, शासकीय स्वरूप, चुनाव प्रणाली, पहिचान र आर्थिक क्षेत्रको पुनर्संरचना आदि एजेन्डाहरूबाट राष्ट्रलाई एकताबद्ध गर्ने उनको विश्वास छ।
‘विशेष महाधिवेशनले पार्टी भित्रको वैचारिक अस्पष्टता, राजनैतिक अन्योलता, साङ्गठनिक अराजकता, विधि विहीनता, सहित नयाँ पुस्ताको भावना र सपना सम्बोधन गर्ने कार्ययोजना तयार पार्न पार्टीको पुनर्गठन गर्नेछ’ शर्माले भनेका छन्।








































