पूर्वी नेपालको ताप्लेजुङ जिल्लामा रहेको पाथीभरामा बनाउन लागिएको केबलकार निर्माणमा पहिचानबादीको नाममा निर्माण कार्यमा अवरोध गरेसंगै यो परियोजनाका विषयमा अहिले राष्ट्रियस्तरमै चर्चा परिचर्चा भई रहेको छ ।
नेपालका धेरै स्थानमा केबलकार निर्माण गर्दै आएको आइएमई ग्रुपको अगुवाईमा ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथीभरा देवीको मन्दिरमा पुग्न सहज हुने गरि केबुलकार निर्माण सुरु हुन लागेको हो । निर्माण आयोजना स्थलमा स्थानीयको सहयोग र तदारुकतामा साथ काम गर्नुपर्नेमा ताप्लेजुङमा भने स्थानीय बासिन्दाहरुको सहयोग मिलेको छैन ।
यो समुह या त्यो समुहको नाममा भेला भएका समुहबाट केबुलकार निर्माणमा अबरोध सृजना गर्दै आएको छ । संघीय र प्रदेश सरकार तथा जिल्लाका स्थानीय सरकारले आवश्यक सबै प्रक्रिया पूरा गरी निर्माण अनुमति दिएका छन् । स्थानीय जनप्रतिधिहरुले समेत सो केबलकार निर्माणका लागि आग्रह गरेपछि कम्पनीले परियोजनाको शिलान्यास गरी निर्माण प्रक्रिया अघि बढाएको केबुलकार कम्पनीको दाबी रहेको छ ।
पछिल्ला केही दिनयता पहिचानबादीका नाममा समुहमा निर्माण कार्यको विरोध हुर्दै आएपछि विकास निर्माण कार्यमा अवरोध उत्पन्न समेत भएको छ । जसका कारण केही दिनअघि निर्माणस्थलमा रहेका सुरक्षाकर्मीमाथि नै जाइलागेर परिस्थित उत्तेजक बनाइएको थियो । त्यस पछि केही व्यक्ति घाइते समेत भए । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङ र छिमेकी अरु जिल्लाका सांसदहरुलाई बैठकमा बोलाएर सो समस्यालाई समाधान गर्ने उपाय समेतको खोजी गरियो । त्यहाँ उपस्थितसबै सांसदहरु तथा गृहमन्त्रीको प्रस्तावमा घाइतेको उपचार खर्च गर्ने सहमती भई घटनाबारे थप बुझेर समाधानका लागि वार्ता समिति गठन गर्ने निर्णय भए अनुसार गृहमन्त्रालयले बार्ता टोली समेत गठन गरि सकेको छ । सरकारको नियम कानुनमा रही निर्माण सुरु भएको नयाँ र बृहत पर्यटन परियोजनामा भइरहेको अवरोधले आगामी दिनमा अघि बढाइने विकास परियोजनामा के कस्तो सन्देश जाला भनेर उनीहरुसँग छलफल गरिएको थियो ।
पाथीभरामा केबुलकार निर्माणको काम रोक्न त्यहाँका स्थानीय बासिन्दाको नाममा जुन कार्य भैई रहेको छ त्यसबाट विकास निर्माणको काममा समेत अबरोध पुग्ने प्रष्ट देखिएको छ । नो केबुलकार समूहको नामबाट उनीहरुले निर्माणस्थल भन्दा पनि बाहिर तथा अरु जिल्लामा समेत आन्दोलनका घोषणा समेत भई यातायात समेत बन्द गरेका छन् । केबुलकार निर्माणको विषयमा विवाद हुँदा प्रहरीले गोली चलाएको प्रचार समेत गरिएको छ । सो क्रममा दुई जना घाइते भएका थिए । त्यसै गरी भागदौडमा एक जना गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याएर उपचार भयो । उता कोशी प्रदेश सरकारको राजनीतिक तथा शान्ति वार्ता समितिले पाथीभरा क्षेत्रमा केबलकार निर्माणमा असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेको पक्षलाई वार्ताका लागि बोलाएपनि उनीहरु बार्तामा गएका छैनन । पक्कै पनि कुनै परियोजना निर्माण गर्दा त्यस क्षेत्र या सम्पदा विशेषको पहिचान मेटाएर कुनै परियोजना निर्माण गर्नुहुँदैन ।
तर सम्पदा विशेषको पहिचानलाई जोगाएर विकास निर्माण गरिनु आजको आबश्यकता नै हो । कुनै पनि बिकट मन्दिरमा पूर्वाधार पु¥याउँदा त्यसको पहिचान गुम्छ, त्यहाँ पहिले जसरी हिँडेर जाने गरिएको थियो, त्यसैगरी अहिले पनि हिँडेरै र तिनै पुराना बिसौनीमा बिसाउँदै जानुपर्छ भन्नु पनि एक प्रकारको गलत नै हो । पाथीभरा जाने बाटोको केही तल काफ्लेपाटीसम्म गाडी चढेर जान हुने तर त्यहाँबाट माथि केबलकारमा दर्शनार्थी जाँदा मन्दिरको पहिचान गुम्छ या हराउँछ भन्नेजस्ता तर्क सही भएको छ भन्न मिल्दैन । हिजोका पुस्ताले पैदल हिडेर ओहोर दोहोर गरेभन्दैमा अहिलेको पुस्ताले पनि सोही गर्नुपर्छ भन्ने भनाई पनि उचित होईन । पछिल्लो समयमा विकास भएका प्रविधी र सुविधालाई भने प्रयोग गर्दै जानु पनि अधिकार हो । त्यसलाई अबरुद्ध गर्ने अधिकार कोही कसैलाई पनि छैन । कुनै मठ, मन्दिर, सम्पदाका आफ्ना मौलिक पहिचान र सांस्कारिक मान्यता हुन । तिनलाई सोही स्वरुपमा रहन दिनुपर्दछ र नयाँ प्रचलनहरुले पुराना संस्कारहरुको प्रतिस्थापन गर्नुहुँदैन । तर यसको अर्थ अप्ठेरोलाई समयानुकुल सजिलो बनाउनु हुँदैन भन्ने पनि त होइन ।
ती त सबैका साझा आस्थाको धरोहर भएकाले जतिसक्यो धेरै नागरिकलाई पहुँचयोग्य बनाउनु र आ–आफ्ना आस्था र विधिअनुसार पूजा गर्न सक्नेगरी सबै नागरिकलाई सुविधा प्रदान गर्नु राज्यको पनि कर्तव्य समेत हो । अहिले यो परियोजना विवादकै कारणले नबन्ने अवस्था आयो भने त्यसले कुनै एक निर्माण कम्पनी या निर्माणकर्ता व्यक्तिलाई भन्दा पनि राष्ट्रलाई नै नराम्रो असर पुग्ने प्रायः निश्चित रहेको छ । यसको असर ताप्लेजुङ जिल्ला र सिंगो कोशी प्रदेशलाई त पर्छ नै, यसले सिंगो राष्ट्रको लगानीको वातावरणलाई समेत पर्ने छ । सरकारले वैदेशिक लगानीका लागि समय समयमा लगानी सम्मेलन गरेर विदेशी लगानीकर्तालाई अनुनय विनय गर्दा सोही विवादको नजिरले लगानीकर्ता डराउदै अनेत्र लगानी लैजाने समेत प्रष्ट रहेको छ ।
विदेशी लगानीकर्ताहरु पैसा खर्च गरेपछि सरासर काम गर्न पाउने वातावरण हेर्छन् । कुनै पनि प्रकारको झमेलामा लगानीकर्ताहरु फस्न चाहँदैनन् । यो मुलुकमा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष समेत रहेका आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेतृत्व गरेको कम्पनीले समेत आयोजना अघि बढाउन नसक्ने हो भने सामान्य लगानीकर्ताको हालत के होला भन्ने सबै व्यवसायीहरुको चिन्ता व्य क्त गर्न थालेका छन् । अध्यक्ष ढकालले आयोजनाबाट हात झिक्दा यसको राष्ट्रिय तथा अन्तराष्ट्रिय लगानीकर्तालाई कस्तो सन्देश जाला बेलैमा विचार गर्नुपर्ने हुन्छ ।
सरकारले लगानीकर्ताहरुलाई सहज वातावरण बनाइदिन सक्यो भनेमात्र उनीहरु लगानीका लागि यहाँ आउने छन् । तर यहाँ कुनै एउटा परियोजनाका विषयलाई लिएर गोली चल्ने, सिंहदरबार र कोशी प्रदेशका प्रदेश सभाहरुमा बैठक बस्ने जस्ता वातावरणहरुका बारेमा त उनीहरु पनि जानकार नै हुन्छन् नि । देशभित्र यस प्रकारका नयाँ विवादहरु सिर्जना हुदै जाने र सरकारले समयमै तिनको निराकरण नगर्ने हो भने त्यसको असर पक्कै पनि पर्ने नै देखिन्छ । नेताहरुले हामीसँग लगानीमैत्री वातावरण छ भनेर भाषण गरेर मात्र हुँदैन कि त्यसलाई व्यवहारमा उतार्नका लागि काम गर्न सक्ने वातावरण चाहिन्छ । पाथीभरा परियोजना नेपालको निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नै नेतृत्व गरिरहेका छन् । उनीहरु भनेको स्वदेश तथा विदेशमा लगानीको वातावरणका वकालतकर्ताहरु हुन । उनीहरुले नै स्वदेशी र विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानीका लागि सही सूचना र सन्देश दिने हो, आह्वान गर्ने हो । अहिले बर्सेनि लाखौँ भक्तजन पाथीभरा पुग्ने गरेका छन् । पाथीभरा देवीको शक्तिका कारण स्वदेश विदेशबाट नै भक्तजनहरु आउने गरेका छन् । यति प्रसिद्ध शक्तिपीठलाई कुनै जाति या क्षेत्रविशेष भित्र सीमित नगरेर देवीको प्रचार प्रसार संसारमै पुग्नु जरुरी छ । यसका लागि पूर्वाधारहरुको निर्माण गरी मन्दिरसम्म जाने र त्यहाँ पुगेका भक्तजनहरुले सेवा सुविधा प्राप्त गर्न पाउने वातावरण बनाउनु जरुरी छ । यस्तो सुविधा प्राप्त भएपछि अहिलेको तुलनामा कैयौँ गुणा बढी भक्तजन त्यहाँ पुग्दा देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्यका रुपमा पाथिभराको विकास हुनेछ ।
यसले यहाँका स्थानीयले उक्त परियोजनाको स्वामित्वदेखि आफ्ना उत्पादनहरुको बिक्रीवितरणको अवसर पनि मिल्ने नै छ । स्थानीयले आफ्ना स्थानीय उत्पादनका साथै लाखौँ भक्तजनहरुको सेवा सुविधाका लागि तयार गर्ने हस्पिटालिटी एवं आफैले उत्पादन गर्ने रोजगारीले उनीहरुको जीवनस्तरमा ठूलो परिवर्तन ल्याउने छ । यसका अतिरिक्त स्थानीयलाई परियोजनाले दिने रोजगारीको अवसर पनि छँदैछ । यसरी यो परियोजनाबाट एकातर्फ यहाँका स्थानीय र सिंगो कोशी प्रदेशकै आर्थिक विकासमा ठूलो टेवा पुग्नेछ भने अर्कातर्फ पाथीभरालाई नेपालको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय धार्मिक एवं सांस्कृतिक पर्यटन गन्तव्यका रुपमा विकास गर्न सकिने अवसर पनि प्राप्त हुने देखिन्छ ।
पाथीभरालाई लिम्बू मुन्दुमअनुसार मुकुम्लुङ भनिने गरिएको छ । यसलाई विशेषतः लिम्बू समुदायले मुन्दुमी पवित्र धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदा मान्छन् । यायोक्खाका अध्यक्ष जीवन हाताचो राईले किराती समुदायको पवित्र सांस्कृतिक धरोहर, मुन्दुमी स्थल ताप्लेजुङ जिल्लाको मुकुम्लुङ क्षेत्र रहेको बताउँछन । सो पवित्रस्थल किराती समुदाय लगायत आदिवासी समुदाय र सारा नेपालीको आस्थाको केन्द्र हो । अन्तर्राष्ट्रिय श्रमसन्धि आइएलओ १६९ को अधीनमा रही नेपाल सरकारले समेत उक्त अभिसन्धिको पालना गर्ने परम दायित्वलाई बिर्सिँदै उक्त अभिसन्धिमा उल्लिखित एफपीआइसी (सम्बन्धित समुदायसँग पूर्व स्वीकृति लिनुपर्ने) नगरी नेपाल सरकारले एउटा निजी कम्पनीलाई विकासको नाममा केबलकार बनाउने स्वीकृति दिनु आफैंमा अन्ताराष्ट्रिय कानुन उलङ्घन गर्नु हो । तर, केबुलकार निर्माण कम्पनीलाई सरकारले पुरा गर्नु पर्ने कानुनी मान्यता पुरा गरेर स्वीकति दिएको देखिन्छ । केबलकार बनाउने योजना बनेपछि त्यसको विरोधमा लागि २०७९ माघ ११ गते केबलकार निर्माणविरुद्ध सङ्घर्ष समिति गठन भएको देखिन्छ ।
केबलकार निर्माण खारेजी संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बू लिम्बूले केबलकार निर्माण गरी लिम्बू समुदायको मुन्दुमी पवित्र धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदा नष्ट गर्न नहुने बताउदै आएका छन् । लिम्बू समुदायको ऐतिहासिक भूमि, अस्तित्व र इतिहाससँग जोडिएको भन्दै यो क्षेत्र भनेको शक्तिपीठ हो, पवित्र धार्मिक क्षेत्र हो । त्यसैले मानिसहरू व्यक्तिगत स्वार्थमा लागेर पैसा कमाउने उद्देश्यले विनाश त गर्न भएन नि, त्यसकारण हामी यसको विरुद्धमा आवाज उठाएको र बनाउन नदिने बताउदै आएको छ । त्यसैले सरकारले पनि जहाँ विकासमा हुने अबरोधलाई समधान नगर्ने हो भने त्यसबाट देशकालागि ठूलो घाटा समेत हुने निश्चित रहेको छ ।
स्थानीयहरुको रोजी रोटीमा खोसिने कुरा गरेर आन्दोलनरत पक्षले आन्दोलन गरिरहेका छन । यो कुरा सत्य होइन । केबुलकार निर्माणले त झन रोजगारिको र्सिजना गर्दछ र स्थानीयहरुलाई समृद्ध बनाउने काम गर्ने कुरालाई भुल्नु महागल्ती हुन्छ ।