काठमाडौं । नेकपा माओवादी केन्द्रले देशलाई दुई दलीय व्यवस्थातर्फ लैजाने कांग्रेस र एमालेको योजनालाई स्थानीय तहको उपचुनावले खण्डित गरेको दावी गरेको छ । आज बसेको स्थायी समितिको बैठकले स्थानीय चुनाव पार्टीको लागि उत्साहजनक भएको निस्कर्ष समेत निकालेको छ ।
स्थानीय चुनावको समिक्षा गर्दा सारमा उत्साहपूर्ण नतिजा आएको निस्कर्ष बैठकले निकालेको प्रवक्ता अग्नी सापकोटाले बताए ।
उनले भने, ‘जनताले सबै नेता कार्यकर्तालाई अब सत्तातिर होइन, सत्तातिर होइन जनतातिर फर्किनुपर्छ भन्ने सन्देश दिएका छन् । कांग्रेस र एमालेले देशलाई दुई दलीय व्यवस्थातिर लैजाने सोचिरहेका थिए, त्यसलाई चुनावको नतिजाले खण्डित गरेको छ ।’
यो सरकारप्रति हरेक पक्षमा जनतामा असन्तुष्टि, निराशा र आक्रोश रहेको माओवादीको ठहर छ । सरकार राम्रो काम गरिरहेका विद्युत प्राधिकरण लगायत संस्थाहरुलाई अवरोध सिर्जना गरेर देशलाई अधोगतितर्फ धकेलेको सापकोटाले बताए ।
उपचुनावको नतिजाले सरकारलाई अन्य कुरामा पनि दवावमा पारेको निस्कर्ष पार्टीले निकालेको सापकोटाले बताए । सरकारले भ्रष्टाचारलाई बढावा दिएकाे माओवादीकाे ठहर छ ।
माओवादीले आउँदो पुस २१ गते केन्द्रीय समिति बैठक बोलाएको छ । त्यसको तयारीका लागि पुस १८, १९ र २० गते स्थायी समिति बैठक डाकिएको छ ।