05, Dec, 2024

९ वर्षदेखि अलपत्र बुटवलको मुख्य सडक: पुरानो ठेक्का रद्द गरी नयाँ ठेक्कामार्फत काम सुरु

बागमती भ्वाइस
बागमती भ्वाइस
२२ कार्तिक २०८१, बिहीबार १४:०९ | ४ हफ्ता अगाडी

रुपन्देही । ९ वर्षदेखि अलपत्र बुटवलको मुख्य सडक राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको सडक निर्माणको काम सुरु भएको छ । यस अघि ठेक्का पाएको निर्माण कम्पनीले लामो समय काम पूरा नगरी अल्झाएपछि उसको ठेक्का रद्द गरेर नयाँ ठेक्कामार्फत सडक निर्माणको जिम्मा पाएको बावुल दर्शन मालिका जेभी भैरहवाले मंगलबारदेखि सडक निर्माणको काम सुरु गरेको हो ।

कञ्चनजंघा बिरुवा जेभीसँग वि.स. २०७३ साल चैत्र १७ गते २०७६ सम्ममा सडक विस्तार सक्ने गरी ५३ करोड ९७ लाख ९९ हजार ४०० रुपैयांमा ठेक्का सम्झौता भएको थियो । तर ९ वर्षसम्म पटक–पटक म्याद थप्दासमेत सडक विस्तार सम्पन्न नभएपछि गत वैशाखमा सडक डिभिजन कार्यालय बुटवलले उक्त ठेक्का रद्द गरेको थियो ।

पुरानो ठेक्का रद्द भएपछि नयाँ टेण्डर प्रकृयाबाट बावुल दर्शन मालिका जेभी भैरहवासँग असोज १८ गते १ वर्षभित्रमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी महेश्वर लम्सालले बताए । साढे ३ किलोमिटरको ६ लेन सडक विस्तार गर्न लागि भ्याटसहित ३३ करोडमा ठेक्का सम्झौता भएको सूचना अधिकारी लम्सालले बताए ।

बावुल दर्शन मालिका जेभी भैरहवाका रउफिक रहमन खानले सडक निर्माणको काम राती र दिउँसो दुई सिफ्टमा गर्ने र छठलगत्तै जनशक्ति पनि थप गरी तीव्र गतिमा निर्माण गर्ने जनाएका छन् । ‘मंगलबारदेखि इलाका प्रशासन कार्यालय नजिकबाट निर्माणको काम सुरु भएको छ, छठपछि जनशक्ति थपेर दिउँसो र राती गरी दुई चरणमा काम गरी तोकिएको समयसिमा भित्रै सडक निर्माणको काम सम्पन्न गर्नेगरी योजना बनाएका छौँ’ उनले भने ।

सुरुमा खाली रहेको ठाउँमा निर्माणको काम गर्ने र त्यसपछि अन्य ठाउँको काम गर्ने र सडक निर्माण गर्दा धुलो उड्न नदिनका लागि पानी राख्ने खानले बताए ।

फुटपाथ तीन मिटर, सर्भिस लेन सात मिटर, ग्रीनबेल्ट र स्टल साढे दुई मिटर र मुख्य लेन साढे १० मिटरको हुने सूचना अधिकारी लम्सालले बताए । सडकमै नाइट स्टल राख्न मिल्ने पनि बनाइने गरी ठेक्का सम्झौता भएको सूचना अधिकारी लम्सालले बताए ।

बुटवलको चौराहादेखि चिडियाखोलासम्मको सडक ०७३ मा ठेक्का सम्झौता भए पनि अझैसम्म निर्माण सम्पन्न भएको छैन । तीन किलोमिटर सडक खण्ड ठेकेदारले आठ वर्षदेखि अलपत्र पारेपछि नयाँ ठेक्का लगाइएको हो । पुरानो ठेकेदार कञ्चनजंघा बिरुवा जेभी काठमाडौँसँग सम्झौता तोडेर सडक विभागले नयाँ ठेकेदारलाई जिम्मेवारी दिएको हो ।

सडक कार्यालय बुटवलका प्रमुख जिवेन्द्र मिश्राका अनुसार बुटवलको चौराहादेखि गोलपार्कसम्मको ३।२५ किलोमिटर सडक ६ लेनमा विस्तार गर्न लागि भ्याटसहित ३३ करोडमा ठेक्का लागेको हो ।

यस अघिको कम्पनीसँग २०७६ सम्ममा सडक विस्तार सक्ने गरी ०७३ चैत १७ मा ठेक्का सम्झौता भएको थियो । तर पटक–पटक म्याद थप्दासमेत सडक विस्तार सम्पन्न नभएपछि गत वैशाखमा डिभिजन सडक कार्यालय बुटवलले उक्त ठेक्का रद्द गरेको थियो । अहिले एक वर्षमा काम सक्ने गरी ठेक्का लगाएको हो ।

बुटवल बेलियादेखि चिडिया खोलासम्म पर्ने ६ लेन सडक अहिले चौराहासम्म निर्माण सम्पन्न भइसकेको छ । अब चौराहदेखि चिडिया खोलासम्म निर्माण गर्दा सर्भिस लेन ठुलो र पार्किङ व्यवस्थापनसमेत मिल्ने गरी नयाँ डिजाइन गरेर काम अगाडि बढाउने तयारी छ ।

यहाँ फुटपाथ तीन मिटर, सर्भिस लेन सात मिटर, ग्रीनबेल्ट साथै स्टल साढे दुई मिटर र मुख्य लेन साढे १० मिटरको हुनेछ । सडकमै नाइट स्टल राख्न मिल्ने पनि बनाइँदै छ । ग्रीनबेल्ट तथा स्टल कहाँ, कसरी राख्नेबारे छलफल गरेर व्यवस्थित रूपमा काम अगाडि बढाइने छ । अहिले भैरहवादेखि चौराहासम्म भएको जस्तै सडकमा हरियाली बढाउन बिरुवा हुनेछन् भने रातमा सहरको सुन्दरता बढाउन सडक बत्तीको व्यवस्था पनि गरिने छ ।

बुटवलको यो सडक समयमा सम्पन्न नहुँदा मुख्य सडक छेउका व्यवसायीहरू पलायन भएका छन् । सिद्धार्थ राजमार्ग र पूर्वपश्चिम राजमार्गसमेत यही सडकमा पर्ने भएकाले समयमा यो सडक नबन्दा धेरै क्षेत्रबाट आलोचना भएको छ । यहाँका उद्योगी व्यवसायीले मात्रै होइन राजनीतिक दलले पनि यसलाई समयमै निर्माण गर्न चर्को दवाव दिएका थिए ।

०७९ को स्थानीय र संसदीय निर्वाचनमा समेत यो विषयलाई विशेष तरिकाले उठाइएको थियो । पहिले केही राजनीतिक दलले ठेकेदारलाई उचालेर समयमै काम नसक्न प्रेरित गरेकाले पछि ठेकेदारले पनि समयमा नसकेको र यसले बुटवलकै मुख्य विषयलाई ओझेलमा पारेको विश्लेषक डिआर घिमिरे बताउँछन् ।

२२ कार्तिक २०८१, बिहीबार १४:०९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading