वि.सं.२०८३ वैशाख २० आइतवार

कोटेश्वर जडीबुटी सडक आठ लेनको बनाउने काम तीव्र, असारसम्ममा बनिसक्ने

khanepani

काठमाडौं । कोटेश्वर जडिबुटी क्षेत्रमा हुने पट्यारलाग्दो ट्राफिक जामबाट यात्रुले छिट्टै मुक्ति पाउने भएका छन् । भक्तपुरबाट काठमाडौं प्रवेश गर्ने कोटेश्वर–जडीबुटी क्षेत्रमा हुने ट्राफिक जाम घटाउनका लागि अहिले उक्त सडक खण्डलाई झन् फराकिलो बनाउने काम द्रुत गतिमा अघि बढेको छ । सडक विस्तार सकिएसँगै उक्त क्षेत्रको ट्राफिक जाम निकै कम हुने अपेक्षा गरिएको छ ।

अहिले दिनरात नभनी सडक विस्तारको काम गरिरहेकाले सडक विस्तारको काम भइरहेको बताउँछन् सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख कुबेर नेपाली । उनका अनुसार चार महिनाअघि नै सकिनुपर्ने सडक विस्तार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा र व्यक्तिको जग्गालाई अधिग्रहण गर्ने प्रक्रियामा समस्या आएपछि ढिला भएको हो ।

यससँगै कोटेश्वर र जडीबुटीसम्मको दक्षिणतर्फ रहेको त्रिभुवन विमानस्थल पर्खाल भत्काउन पनि केही समय लाग्यो । सुरक्षाको हिसाबले पर्खाल भत्काउन नै चार महिना लागेको प्रमुख नेपालीले बताए । ‘सुरक्षाका हिसाबले पनि हामीले कानूनी प्रक्रिया पूरा गरी काम शुरू गर्नुपर्ने भएकाले यसमा केही ढिला भयो’, उनले बताए।

अहिले मुआब्जा र सरकारी स्वामित्वको जग्गा अधिग्रहण गर्ने सबै काम सकिएको छ । असार मसान्तभित्रमा सडक तयार हुनेछ’ उनले भने । उनका अनुसार अहिलेसम्म कोटेश्वर जडीबुटी खण्डको दक्षिण भागको सडक एक महिनाभित्रमा पिच नै हुनेछ । त्यहाँको सडक बढाउनेदेखि डोजर लगाएर माटो सम्याउने कामसमेत भइसकेको छ ।

यो दक्षिणपट्टिको भागमा एक महिनाभित्रमा नै पिच गरिनेछ’ उनले भने, ‘यो भागमा दुई लेनको बाटो हुनेछ ।

सडकको उत्तरपट्टिको भागमा रहेको टंकप्रसाद आचार्यको सालिक भएदेखि जडीबुटी चोकसम्मको भागमा एक लेनको बाटो बनाइनेछ । त्यसका लागि सडक डिभिजन कार्यालयले त्रिभुवन विमानस्थलसँग जग्गा प्राप्तिको काम सकिसकेको छ । अब केही दिनपछि नै त्यहाँ माटो सम्याउने काम अघि बढ्ने प्रमुख नेपालीको भनाइ छ । ‘दक्षिणतर्फको सडक विस्तार गर्ने काम लगभग सकिंदै गएको छ । अब उत्तरतर्फको सडक विस्तार गर्ने छौं, उनले बतााए ।

प्रमुख नेपालीका अनुसार कोटेश्वरको जाम सडक विस्तारले केही समाधान गरेपनि यो पूर्ण समाधान भने होइन । ‘यसले अहिले भइरहेको जामलाई केही व्यवस्थित मात्र गर्छ । तर, यो पूर्ण समाधान भने होइन’ उनले भने ।

उनका अनुसार जसरी सरकारले विकासका लागि सडक निर्माण गर्छ त्यसवेला नै दीर्घकालीन समस्याहरूको समाधान अपनाएर निर्माण गर्नुपर्ने हुन्छ । तर, नेपालमा त्यस्तो परिपाटी नभएको उनको भनाइ छ । नेपालमा सडक होस् वा अन्य कुनै पनि विकास निर्माणका काम गर्दा तत्कालको समस्यालाई मात्र हेरिने प्रमुख नेपाली बताउँछन् ।

कुनै पनि शहरको बढ्दो जनघनत्वलाई हेरेर १०÷२० वर्ष पछिको अवस्थालाई पूर्व मूल्याङ्कन गरेर विकास निर्माण गर्ने हो भने यस्तो समस्या नआउने बताउँछन्, सरोकार पक्ष । कोटेश्वर जडीबुटीको जाम पनि त्यसैको नतिजा भएको प्रमुख नेपालीको ठम्याइ छ । ‘कोटेश्वरजडीबुटीमा वैकल्पिक सडक धेरै छैन । यस्तो ठाउँमा १० वर्षमा कति जाम हुनसक्छ भनेर पहिल्यै आकलन गरिएको भए अहिले यस्तो समस्या आउने थिएन’ उनले बताए ।

अहिले कोटेश्वर जडीबुटी सडक खण्डको बाटो विस्तार गरेर मात्र जाम हटाउन पर्याप्त नभएकाले मनोहरा खोलाको करिडोरलाई पनि द्रुत गतिमा विस्तार गरिरहेको प्रमुख नेपाली बताउँछन् ।

काठमाडौं डिभिजन कार्यालयले नै यस करिडोरको विस्तार गरिरहेको छ । डिभिजन कार्यालयले कोटेश्वर जडीबुटी सडक खण्ड विस्तार गर्नका लागि अनुमानित १२ करोड रुपैयाँ बजेट छुट्याएको थियो । तर, अहिले ७ करोड रुपैयाँमा निर्माण सम्पन्न गर्ने आकलन गरिएको छ । योसँगै बचत भएको पाँच करोड रुपैयाँले जडीबुटी पुल मुनिको करिडोर निर्माण गरिने भएको हो ।

यो करिडोर निर्माणसँगै पेप्सीकोला र त्यस आसपास क्षेत्रका बासिन्दा ललितपुर जाँदा–आउँदा काठमाडौं नपसी करिडोरै करिडोर बालकुमारी पुल निस्कन सक्नेछन् । जसले गर्दा कोटेश्वरको जामलाई अझ घटाउन मद्दत पुग्नेछ । तर, कोटेश्वर–जडीबुटीको जाम घटाउने हो भने सडक विस्तार मात्रै नभएर अण्डरपास र अन्य वैकल्पिक बाटो खोज्नुपर्ने प्रमुख नेपालीको भनाइ छ ।
विस्तार सकिएपछि उक्त सडक आठ लेनको हुनेछ ।

ranechhap