काठमाडौं । केही समयदेखि हिंसात्मक आन्दोलनमा सक्रिय विप्लव नेतृत्वको नेकपा माओवादी शान्तिपूर्ण राजनीतिमा फर्किने भएको छ । आजै प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लव एक साथ कार्यक्रममा देखिँदैछन् ।
विप्लव समूहले घोषितरुपमा सशस्त्र आन्दोलन नगरे पनि उसले विभिन्न हिंसात्मक गतिविधिहरु गर्दै आएको थिए । दुई वर्षअघि एनसेल टावरमा बम विष्फोट गराएपछि ओली सरकारले नै उक्त समूहलाई प्रतिबन्ध लगाएको हो । त्यसयता पनि छिटफुट गतिविधि विप्लव समूहले गर्दै आएको छ ।
तत्कालीन माओवादीका चर्चित नेता विप्लव पछि मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीमा गएका थिए । वैद्यसँग पनि कुरा नमिलेपछि उनले छुट्टै पार्टी निर्माण गरेर भूमिगत बनेका हुन् । त्यसयता विप्लव समूहले विभिन्न स्थानमा आगजनी, तोडफोड, कुटपिट, अपहरण, धम्की, गोलीप्रहार, जग्गा कब्जा, तालाबन्दी पुत्लादहन लगायतका अपराधिक घटना गर्दै आएको थिए । यो समूहबाट चार सर्वसाधारण र दुई प्रहरीको हत्या भएको छ । विप्लव समूहतर्फ १६ जना हताहत भएका छन् ।
२०७५ फागुन १० मा ललितपुरस्थित एनसेल टावरमा बम विस्फोट गरायो । उक्त विष्फोटमा एक सर्वसाधारणको मृत्यू भएको थिए । सोही विष्फोटका कारण विप्लव समूहलाई सरकारले फागुन २८ गते प्रतिवन्ध लगायो । प्रतिवन्धपछि पार्टीका नेता कार्यकर्ता पूर्ण भूमिगत बनेका थिए ।
प्रहरीको रेकर्डअनुसार २०७५ फागुनदेखि ०७७ मंसिरसम्म विप्लव समूहले बम कानूनविपरितका ७१३ वटा घटना घटाएका छन् । नेपाल प्रहरीका अनुसार विप्लव समूहले बन्दको अवज्ञा गरेको भन्दै सार्वजनिक सवारीमा आगजनीदेखि पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा बम विष्फोट गराएका थिए ।
प्रहरीको तथ्थाङ अनुसार विप्लव समूहले प्रतिबन्ध लागेयता २५७ ठाउँमा आगजनी, बम विस्फोट ८६ वटा, शंकास्पद बस्तु १२५, बम विस्फोट १०९, विस्फोटक पदार्थ ३२, तोडफोड १९, कुटपिट २ र ४ ठाउँबाट प्रहरीले हातहतियार फेला पारेको थिए ।
यस्तै प्रहरी कारबाही २, कालोमोसो ५, ग्रीनेड ५, गोली प्रहार २, धम्की रोकावट ३, अपहरण २, जग्गा कब्जा ३ तथा अन्य भित्तेलेखन, पर्चा, पम्प्लेट, ब्यानर, पुत्लादहन, तालाबन्दी आदि ५७ वटा घटना घटाएका छन् । विप्लवको पछिल्लो गतिविधि भनेको चन्दा असुल गर्ने र विभिन्न घटनाको विरोध जनाउदै बन्द आह्वान गर्ने रहेको थिए ।
विप्लव समूहले गराएको ठूलो बम विस्फोटमा ४ जना सर्वसाधारणले ज्यान गुमाएको प्रहरी तथ्याङमा छ । विप्लव समूह सितको मुठभेडमा एक जना प्रहरीले पनि ज्यान गुमाएका छन् । गत मंसिर २३ गते मोरङमा शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गरिएको थिए । २०७५ फागुन १० गते ललितपुरको नख्खु दोबाटोमा रहेको एनसेल टावरमा बम विस्फोट गराउँदा सिंहप्रताप गुरुङको मृत्यु भएको थिए भने दुई जना घाइते भएका थिए । यस्तै २०७६ मंसिर २८ गते धनुषामा बम विस्फोट गराउँदा २ जना सर्वसाधरण र एक प्रहरी अधिकृतले अकालमै ज्यान गुमाउनु पर्यो ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका राजेश शाहको घरमा बम विस्फोट हुदाँ प्रहरी निरीक्षक अमिर दाहालसँगै राजेश शाह र उनको १५ वर्षीय छोरा आनन्दको मृत्यु भएको थिए । यसैगरी २०७६ असार २५ मा विप्लव समूहका कार्यकर्ताले हानेको गोली लागेर भोजपुरमा प्रहरी जवान सञ्जिव राईको मृत्यु भएको थिए ।
नेपाल प्रहरीका अनुसार प्रहरी कारवाही, विष्फोट तथा पहिरोमा परेर १६ जना विप्लव कार्यकर्ताले ज्यान गुमाएका छन् । बम विस्फोटमा परेर मात्रै ७ जना कार्यकर्ताको मृत्यू भएको छ भने प्रहरी कारबाहीमा परेर ४ जना मारिएका छन् ।
२०७४ बैसाख ३१ गते कालिकोटमा, ७ जेठ ०७६ मा भोजपुरमा, ५ असार ०७६ मा सर्लाही र २५ असार ०७६ मा भोजपुरमा गरी ४ जना विप्लव कार्यकर्ता प्रहरी कारबाहीमामारिए । विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेललाई भने प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको आरोप परिवारले लगाउँदै आएका छन् ।
यस्तै १२ असार २०७४ मा कैलालीमा, १२ जेठ ०७६ मा काठमाडौंमा भएको आत्मघाती बम विस्फोटमा परी ५ जनाले ज्यान गुमाए भने २ भदौ ०७६ मा कैलालीमा १ कार्यकर्ताको विस्फोटमा परी मृत्यु भयो । त्यति मात्र होइन, पहिरोमा पुरिएर पनि कास्कीमा मंसिर १५ ०७६ मा ५ जनाको निधन भएको छ ।
विप्लव समूहमाथि प्रतिबन्ध लगाइएपछि प्रहरीले धरपकड सुरु गर्यो । सो पार्टीका नेता तथा कार्यकर्ता भूमिगत बने ।
नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरका अनुसार २०७५ सालको १० फागुनदेखि ०७७ साल, फागुन १७ सम्म ७ वटै प्रदेशबाट २ हजार ९८ जना विप्लवका नेता तथा कार्यकर्ता विभिन्न मुद्दामा पक्राउ परेका छन् । उनीहरुविरुद्ध २ हजार ७ मुद्दा परेको छ ।
यो समाचार तयार पार्दासम्म सोधपुछ प्रश्चात ९० जना जेलबाट छुटेका छन् । यस्तै मुद्दा दर्ता भई १८ सय ६४ जना छुटेका छन् । यसैगरी पुर्पक्षकालागि १२६ जना कारागार चलान भएका थिए । १८ जनामाथि अनुसन्धान भइरहेको छ । विभिन्न मुद्दामा पक्राउ परेकामध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशबाट ३८२ जना र सबैभन्दा कम प्रदेश २ बाट १२८ जना पक्राउ परेको थिए ।
विप्लव समूह र सरकारबीच भएको सझदारीमा पक्राउ परेका कार्यकर्ता रिहाइ गरिने भनिएको छ । उक्त सहमतिअनुसार हाल कारागार चलान भएका १२६ जना र अनुसन्धानका क्रममा रहेका १८ जनालाई रिहाइ गर्नुपर्ने हुन्छ । प्रहरी प्रवक्ता कुँबरका अनुसार ज्यान मुद्दा लागेकालाइ भने रिहाइ गर्न मिल्दैन ।









































