वि.सं.२०८३ वैशाख २३ बुधवार

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न अखिल क्रान्तिकारीको माग

khanepani

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता गर्न माग गरेको छ ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिले समग्र क्षेत्रमा प्रभाव पार्ने र जनताको ढाड सेकिने भन्दै क्रान्तिकारीले अविलम्ब मूल्यवृद्धि फिर्ता लिन माग गरेको हो ।

आयल निगमले आइतबार पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँको दरले मूल्य वृद्धि गरेको थियो ।

अध्यक्ष पञ्चा सिंहले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘आयल निगमभित्र भएका भ्रष्टाचार, चुहावट, मनलाग्दी कर्मचारी भर्ना, खरिद बिक्रीमा हुने ठूला अनियमितता र बेथितिको अन्त्य गर्दै जनतालाई सहुलियत दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउनु पर्नेमा वैकल्पिक उपायहरुको खोजी गर्ने तर्फ समेत पूर्ण उदासिन रही केबल अन्तर्राष्ट्रिय बजारको मूल्य समायोजनको हवाला दिंदै भइरहेको पटक–पटकको मूल्यवृद्धि अब किमार्थ सैह्य छैन । तसर्थ पेट्रोल ग्याँस लगायतका बस्तुमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न जोडदार माग गर्दछौं ।’

अध्यक्ष सिंहले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिलाई सरकार नियन्त्रित आयल निगमको ‘जनविरोधी रवैया’ भनेकी छन् । ‘बहुसंख्यक जनताले निम्न आयमा गुजारा गर्नुपर्ने हाम्रो जस्तो मुलुकमा सरकार नियन्त्रित आयल निगमको जनविरोधि रवैयाले सीमा नाघेको हामीले महसुस गरेका छौं,’ विज्ञप्तिमा लेखिएको छ ।

मूल्यवृद्धिको निर्णय फिर्ता नलिए संघर्षमा जाने चेतावनी अखिल क्रान्तिकारीले दिएको छ । साथै यो चेतावनीलाई नियमित नठान्न आयल निगम, विभागीय मन्त्रालय र सरकारको ध्यानाकर्षण गराइएको छ ।

ranechhap