काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्थमन्त्रालयका पूर्वशाखा अधिकृत उद्धवप्रसाद थपलियाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
विभिन्न कार्यालयमा पदमा बहाल रहँदा स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आयोगले उनलाई १ करोड ६४ लाख ८९ हजार ७०० सय रुपैयाँ २५ पैसा बिगो कायम गरी जरिवाना र कैद सजाय माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
०४० फागुन ६ गतेदेखि सार्वजनिक सेवा प्रवेश गरेका थपलियाले २०७५ चैत ३० गते अवकाश पाउनुअघिसम्म २ करोड ६७ लाख ७१ हजार ९५८८ रुपैयाँ आम्दानी गरेका थिए । जसमा उनको वैध आय १ करोड २ लाख ८२ हजार २ सय ५८ रुपैयाँ मात्र हुने अख्तियारको दावी छ ।
त्यसमध्ये एक करोड ६४ लाख ८९ हजार ७०० रुपैयाँ भ्रष्टाचार मार्फत आर्जन गरेको भन्दै अख्तियारले उक्त रकम जफत र भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही गर्न माग गरेको छ ।
थपलियाले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो । अवैध आर्जनको सम्पत्ति उनले श्रीमती मुना पन्त थपलियाको नाममा घरजग्गा तथा बैंक खाताहरुमा रकम मौज्दात गरेको अख्तियारको भनाइ छ । अख्तियारले उनको श्रीमतीलाई समेत प्रवादी कायम गरी सम्पत्ति जफत गर्न माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।







































