चितवन । पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि पानीको स्रोत अपर्याप्त हुँदा जङ्गली जनावर पानीको लागि बस्ती प्रवेश गरेर मानव वन्यजन्तु द्वन्द्वको जोखिम बढ्न थालेको छ ।
निकुञ्जको मुख्य कार्यालयबाट करिब १५ किलोमिटर परसम्म पानीको प्राकृतिक मुहान छैनन् । भने, पानीको स्रोतको अभावसँगै घाँसे मैदान पनि नहुँदा बाघलगायतका जनावरका आहार प्रजाति निकुञ्ज क्षेत्रमा भन्दा आसपासका मध्यवर्ती क्षेत्रमा पाइने गरेका छन् ।
पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडा निकुञ्जमा सबैभन्दा ठूलो समस्या पानी रहेको स्वीकार गर्छन् । अघिल्ला वर्षहरूमा ट्याङ्करबाट बोकेको पानी कृत्रिम पोखरीमा हालेर समेत निकुञ्जले वन्यजन्तुका लागि पानीको व्यवस्था गरेको थियो ।
यस वर्ष निकुञ्जभित्र केही कृत्रिम पोखरी थपिएका पनि छन् । स्वलारमार्फत पानी तानेर वन्यजन्तुलाई खुवाउने व्यवस्था पनि गरिएको छ । प्रमुख संरक्षण अधिकृत खतिवडा चुरेदेखि दक्षिणतर्फको निकुञ्ज क्षेत्र सुख्खा रहेको बताउँछन् ।
उनका अनुसार यसवर्ष डीप बोरिङ गरेर वन्यजन्तुलाई पानीको व्यवस्था गर्न १० लाख बजेट थियो । निकुञ्जले टेन्डर आह्वान गरे पनि टेन्डर नपरेको कारण काम अघि बढ्न सकेन ।
‘हामी वन्यजन्तुलाई पानी खुवाउने कुरामा संवेदनशील छौँ’, उनी भन्छन्, ‘कृत्रिम पानीका स्रोत निर्माण तथा व्यवस्थापनका लागि हामीले पहल पनि गरिरहेका छौँ ।’
निकुञ्जमा सन् २००९ मा ४ वटा मात्रै गणना गरिएको बाघ २०२२ मा आइपुग्दा ४१ वटा गणना भएको थियो । यस वर्ष भएको गणनाको रिपोर्ट भने सार्वजनिक भइसकेको छैन ।
१३ वर्षको अवधिमा ४ बाट ४१ वटाको सङ्ख्यामा बाघ बढ्नु भनेको प्रजनन समेत पर्सा राष्ट्रिय निकुञ्जमा हुन्छ भन्ने उदाहरण भएको डब्लुडब्लु एफ नेपालका डा. शशाङ्क पौडेल बताउँछन् । तर, निकुञ्जले बढेको बाघको सङ्ख्या जोगाउन आहार प्रजातिका लागि घाँसे मैदान र पानीको स्रोतको संरक्षण गर्नुपर्ने सरोकारवालाको धारणा छ ।
यस वर्ष पर्सा राष्ट्रिय निकुञ्जमा तराई भूपरिधि कार्यक्रमको सहयोगमा ठूला रुखको मुनि घाँसे मैदान बनाउने काम गरिएको छ । जसमा सुकी पोखरी घाँसे मैदान क्षेत्रमा २० हेक्टर र बाटोको वारिपारि ४०/४० मिटर घाँसे मैदान बनाइएको छ । भने घाँसे मैदानको क्षेत्रतर्फ पर्ने कालीदह हात्तीसार सेक्टरमा एउटा कृत्रिम पानी पोखरी सिमेन्ट लगाएर बनाइएको तराइ भू परिधि कार्यक्रमको पूर्वी क्लस्टर प्रमुख प्रेम पौडेल बताउँछन् ।
पर्सा राष्ट्रिय निकुञ्जको पानीको लाइफलाइनको रूपमा लिइएका प्राकृतिक पानीका मुख्य स्रोतहरू काली दह, भाटा खोला, सानो हलखोरिया, ठूलो हलखोरिया लगायतका छन् ।
त्यससँगै आधाभार सिमसार, कालीदह जाने बाटोको पोखरी, गौरी पोखरी, भँगेरी खोला पोखरीलगायतका साना ठूला कृत्रिम पोखरीहरू पनि छन् । तर, गर्मीको समयमा कृत्रिम पोखरीहरूमा पानी सुक्ने र प्राकृतिक पोखरीहरूमा पानी पानीको सतह घट्ने गरेको छ ।
तराई भूपरिधि कार्यक्रमको पूर्वी क्लस्टर प्रमुख पौडेलका अनुसार पर्सा राष्ट्रिय निकुञ्जको मुख्य समस्या नै पानीको स्रोतको अभाव र भएका स्रोतहरू पनि संरक्षणको अभाव हो ।
चुरे भावर क्षेत्रमा सुख्खा हुँदा वन्यजन्तु गाउँ पस्ने जोखिम बढेको उनले बताउँछन् । कार्यक्रमको सहयोगमा यस वर्ष एउटा कृत्रिम पोखरी पनि बनाइएको उनले बताए ।
काली नहरको पानी लिफ्टिङ गरेर लगेर पोखरीमा राखिएको उनले बताए । गौर, साम्बर लगायतका प्रजातिले उक्त कृत्रिम पोखरीमा पानी पिएको क्यामरामा देखिएको उनी बताउँछन् ।
पर्सा राष्ट्रिय निकुञ्ज बारा, पर्सा र मकवानपुर गरी तीन जिल्लाले ओगटेको चुरे क्षेत्रको तल्लो तटीय भागमा पर्छ । चुरेका माथिल्ला क्षेत्रमा भएको क्रसर उद्योग, बालुवा उद्योग तथा जमिन उत्खननको प्रभाव यस क्षेत्रमा परेर पानीका मुहान सुक्दै गएका छन् ।








































