वि.सं.२०८३ जेठ १५ शुक्रवार

गणतन्त्र केवल शासन व्यवस्था परिवर्तन होइन, नागरिक सर्वोच्चता हो : डा. भट्टराई

khanepani

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गणतन्त्र दिवस, २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै उनले नयाँ युग र नयाँ पुस्ताको आकांक्षाअनुसार मुलुकलाई अझ उन्नत दिशातर्फ अघि बढाउनुपर्नेमा जोड दिएका हुन्।

भट्टराईले दशवर्षे जनयुद्ध, २०६२/६३ को ऐतिहासिक जनआन्दोलन, मधेश आन्दोलन तथा विभिन्न उत्पीडित समुदायका सङ्घर्ष र बलिदानको जगमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना भएको स्मरण गराएका छन्। गणतन्त्र केवल शासन व्यवस्था परिवर्तन मात्र नभएर नागरिक सर्वोच्चता, समावेशी लोकतन्त्र, सङ्घीयता, सामाजिक न्याय र समृद्ध नेपालको ऐतिहासिक सङ्कल्प भएको उनको भनाइ छ। आजको आवश्यकता प्राप्त उपलब्धिमै अडिएर बस्ने नभई ती उपलब्धिमाथि उभिएर बदलिँदो विश्व परिवेश अनुसार अगाडि बढ्नु रहेको उनले स्पष्ट पारेका छन्।

संविधानका केही अपूर्णता, कार्यान्वयनगत कमजोरी तथा राज्यका संरचनागत समस्याहरूलाई समयानुकूल सुधार गर्नुपर्ने आवश्यकता औंल्याउँदै पूर्वप्रधानमन्त्री भट्टराईले अब नेपालले स्वाधीन, समृद्ध र समुन्नत राष्ट्र निर्माणका लागि ‘साझा राष्ट्रिय कोर भ्यालु’ निर्दिष्ट गरेर अगाडि बढ्नुपर्ने बताएका छन्। सुशासन, उत्पादनमुखी अर्थतन्त्र, विज्ञान-प्रविधि, राष्ट्रिय स्वाभिमान, सामाजिक न्याय, मानवीय खुसी र समृद्धिलाई केन्द्रमा राखेर मात्रै गणतन्त्रको वास्तविक सार्थकता स्थापित हुन सक्ने कुरामा उनले जोड दिएका छन्।

उनले यस गणतन्त्र दिवसले विगतका सङ्घर्ष र बलिदानप्रति सम्मान व्यक्त गर्दै नयाँ सोच, नयाँ सङ्कल्प र नयाँ राष्ट्रिय दृष्टिका साथ अघि बढ्न सम्पूर्ण नेपालीहरूलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत गरेका छन्।

ranechhap