काठमाडौँ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन अझै तीन महिना लाग्ने आयोजनाले जनाएको छ । हाल आयोजनाको पश्चिम पोर्टल (धादिङतर्फ) मा देखिएको पहिरोको समस्या र सञ्चालनका लागि सेवा प्रदायक छनोट प्रक्रिया चलिरहेको छ । उक्त पहिरो व्यवस्थापनको काम भर्खर सुरु भएको र सम्पन्न हुन दुईदेखि तीन महिना लाग्ने आयोजनाको दाबी छ ।
नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका इन्जिनियर सञ्जय पन्थीका अनुसार धादिङतर्फको पोर्टलमा पहिरो नियन्त्रणको काम धमाधम भइरहेको छ । ‘यो काम सकेर सुरुङ सञ्चालन गर्न मिल्ने अवस्था बनाउन करिब दुई–तीन महिना लाग्छ,’ पन्थीले भने ।
यसअघि अंग्रेजी नयाँ वर्ष २०२६ को जनवरी १ बाट सञ्चालनमा ल्याउने लक्ष्य राखिए पनि सेवा प्रदायक छनोट र प्राविधिक कारणले समय लम्बिएको उनको भनाइ छ । उक्त अवधिमा सुरुङमार्ग निर्माणको काम लगभग सकिए पनि सुरुङको पश्चिमी पोर्टलमा पहिरोको जोखिम रहेकाले मर्मत गर्नुपर्ने र सेवाप्रदायक छनोट हुन नसक्दा सञ्चालनमा आउन सकेन । हाल यो सुरुङमार्ग हाल ९८ प्रतिशत भौतिक प्रगति सकिएको छ ।
सुरुङमार्ग सञ्चालन तथा मर्मत सम्भारको जिम्मा लिन १० वटा कम्पनीले आवेदन दिएका छन् । आयोजना प्रमुख सौजन्य नेपालका अनुसार हाल ती कम्पनीहरूको प्राविधिक प्रस्तावको मूल्याङ्कन भइरहेको छ । ‘अहिले हामी मूल्याङ्कनकै क्रममा छौँ । माघ मसान्तभित्र प्राविधिक प्रस्ताव टुङ्ग्याउने लक्ष्य छ,’ प्रमुख नेपालले भने । प्राविधिक रूपमा योग्य ठहरिएका कम्पनीहरूको मात्र आर्थिक प्रस्ताव खोलिने र त्यसपछि अन्तिम सम्झौता हुने उनले जानकारी दिए ।
सञ्चालनका लागि १० कम्पनी, अधिकांश चिनियाँ
जापान सरकारको ऋण सहयोगमा निर्माण भएको यो सुरुङ यसअघि जापनिज निर्माण कम्पनीले चिनियाँ कम्पनीलाई सञ्चालन गर्न नदिन नेपाल सरकारसमक्ष लबिङ गरिरहेको चर्चा चलेको थियो । यसबिच आवेदन दिनेमा अधिकांश चिनियाँ कम्पनी रहेका छन् । जापानले सुरुङमार्ग सञ्चालनका लागि चिनियाँ सरकारी स्वामित्वका र विश्व बैंक र एसियाली विकास बैंकको कालोसूचीमा परेका कम्पनी नछान्न जापानले लबिङ गर्दै आएको सर्वत्र चर्चा छ ।
आयोजनाका इन्जिनियर पन्थीका अनुसार आवेदन दिनेमा चिनियाँ कम्पनीहरूको बाहुल्यता रहेको छ । तर चिनियाँ कम्पनीलाई ठेक्का नदिने भन्ने हल्ला निराधार रहेको प्रस्ट पार्दै उनले भने, ‘हाम्रोमा त्यस्तो कुनै प्रावधान छैन, मूल्याङ्कनमा जो उत्कृष्ट ठहरिन्छ, उसैले जिम्मा पाउँछ ।’
नागढुंगा सुरुङमार्ग सञ्चालन तथा मर्मतका लागि १० कम्पनीका तर्फबाट आवेदन दिइएको छ । जसमा ६ वटा चिनियाँ ३ वटा भारतीय र १ वटा टर्किस कम्पनीले नेपाली कम्पनीको लगानी साझेदारमा (ज्वाइन्टभेन्चरमा) सञ्चालनका लागि प्रस्ताव पेस गरेका छन् ।
आयोजनाले २०८१ कात्तिक १६ गते पहिलोपटक ४५ दिनको म्याद दिएर टेन्डर आह्वान गरिएको थियो । तर सुरुङ सञ्चालन सम्बन्धी प्रावधानमा स्पष्टता नभएको भन्दै बोलपत्र दाताले प्रावधान सच्याउन माग गरेको थियो । यससँगै बोलपत्र (टेन्डर) को म्याद पुस ३० गतेसम्मका लागि थप गरिएको थियो ।
यी हुन् १० कम्पनी
सुरुङमार्ग सञ्चालनका निम्ति इच्छुक कम्पनीमध्ये धेरै चिनियाँ कम्पनी रहेका छन्, जसमा सेग्मेन्टल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड र स्वच्छन्द निर्माण सेवा प्रालिको (सेग्मेन्टल–स्वच्छन्द जेभी), काष्ठमण्डप कन्स्ट्रक्सन प्रालि र गान्सु हेङतोङ रोड एन्ड ब्रिज इन्जिनियरिङ कम्पनी लिमिटेड (काष्ठमण्डप–गान्सु हेङतोङ जेभी), कुमार श्रेष्ठ निर्माण सेवा प्रालि, अल्टिनोक कन्सल्टिङ इन्जिनियरिङ इन्क र भागेश्वर कन्स्ट्रक्सन प्रालि (केएसएनएस–अल्टिनोक–बीसीपीएल जेभी) छन् ।
यस्तै, सान्सी रोड एन्ड ब्रिज ग्रुप कर्पोरेसन लिमिटेड र ब्राइट बुल निर्माण सेवा (एसएक्सआरबी–ब्राइट बुल जेभी), जियाङसी तियानफेङ कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेड र दान्फे कन्स्ट्रक्सन कम्पनी प्रालि ( जेटीसीजी–डाँफे जेभी), बावरी कन्स्ट्रक्सन प्रालि र टनलटेक सोलुसन्स प्राइभेट लिमिटेड (बावरी कन्स्ट्रक्सन–टनलटेक सोलुसन्स संयुक्त उपक्रम) छन् ।
एल्सामेक्स मर्मत सेवा लिमिटेड र पशुपति शिवाजी कन्स्ट्रक्सन प्रालि (ईएमएसएल–पीएससीपीएल जेभी), समानान्तर निर्माण सेवा प्रालि र चाइना फर्स्ट हाइवे इन्जिनियरिङ कम्पनी लिमिटेड (समानान्तर–सीएफएचईसी जेभी), चोङछिङ युजिन रोड एन्ड ब्रिज डेभलपमेन्ट कम्पनी लिमिटेड र एआरटी कन्स्ट्रक्सन (युजिन–एआरटी जेभी), वेदान्शी इन्फ्रास्ट्रक्चर लिमिटेड र रांकेन रेलवे कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेड ( वेदान्शी–रांकेन संयुक्त उपक्रम ) रहेको आयोजनाका इन्जिनियर सञ्जय पन्थीले जानकारी दिए ।
मापदण्डअनुसार यो सुरुङमार्ग सञ्चालनको ठेक्का पाउने कम्पनी कम्तीमा ३ वर्ष करिब १६०० मिटर लम्बाइको सुरुङ सञ्चालनको अनुभव हुनुपर्नेछ ।
साथै यो अन्तर्राष्ट्रिय बोलपत्र भएकाले छनोट हुने विदेशी कम्पनीले नेपाली कम्पनीसँग अनिवार्य रूपमा संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) गर्नुपर्ने उल्लेख छ । यसरी छानिने सेवा प्रदायकले पाँच वर्षसम्म सुरुङको व्यवस्थापन र सञ्चालनको जिम्मा लिनुपर्नेछ । जिम्मेवारीमा सुरुङको मर्मत, ट्राफिक व्यवस्थापन, आपत्कालीन उद्धार, टोल ट्याक्स उठाउने र सुरुङको पहुँच सडकको रेखदेखसमेत गर्नुपर्ने सर्त राखिएको छ । चौबीसै घण्टा सुरुङ सञ्चालन गर्नुपर्ने उल्लेख छ ।
नागढुंगा सुरुङमार्ग सञ्चालनका लागि अझै तीन महिना कुर्नुपर्ने
नागढुंगा सुरुङमार्ग सञ्चालनका लागि अझै तीन महिना कुर्नुपर्ने
वार्षिक सञ्चालन खर्च ३० करोड, १५० जना कर्मचारी
सुरुङमार्ग सञ्चालनका लागि वार्षिक २५ देखि ३० करोड रुपैयाँ खर्च लाग्ने अनुमान आयोजनाले गरेको छ । आयोजना प्रमुख नेपालका अनुसार छनोट भएको कम्पनीलाई सरकारले यो रकम भुक्तानी गर्नेछ ।
प्रमुख नेपालले भने, ‘सवारी साधनसँग उठाइने टोल ट्याक्स (सडक दस्तुर) सिधै ‘सडक बोर्ड नेपाल’ को खातामा जान्छ । त्यो पैसा सेवा प्रदायकले चलाउन पाउँदैन । हामीले उनीहरूको लागत अनुसारको रकम मात्र भुक्तानी गर्ने हो ।’
सुरुङमार्ग २४ सै घण्टा र वर्षको ३६५ दिन नै सञ्चालन गर्नुपर्ने भएकाले करिब १५० जना जनशक्ति आवश्यक पर्नेछ । आयोजनाका अनुसार टनेल सञ्चालनको विशेष अनुभव भएका करिब ५ जना विदेशी विज्ञ र बाँकी सबै नेपाली कर्मचारी परिचालन हुनेछन् ।
इन्जिनियर पन्थीले जनशक्तिको विस्तृत विवरण दिँदै भने, ‘विदेशी विज्ञबाहेक १० देखि १२ जना इन्जिनियर, टोल कलेक्सन गर्ने कर्मचारी, चालक, फायर फाइटिङ (अग्नि नियन्त्रक) टिम, रेस्क्यु टिम र अन्य प्राविधिकहरू रहनेछन् ।’ यो सुरुङमार्ग सञ्चालनका लागि वार्षिक लागत खर्च सरकारले उपलब्ध गराउने र जनशक्तिको व्यवस्थापन ठेक्का सम्झौता अनुसार सम्बन्धित सेवा प्रदायक कम्पनीले नै गर्ने जनाइएको छ ।
२०७६ कात्तिकदेखि जापनिज निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेसनले निर्माण गरिरहेको यो सुरुङमार्ग करिब २३ अर्ब लागत रहेको छ । यस परियोजनामा सुरुमा १७ अर्ब १५ करोड सहुलियत ऋण जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले दिएको थियो । निर्माण लागत र परामर्श खर्च बढेपछि दोस्रो पटक ५ अर्ब २७ करोड रुपैयाँ थप ऋण लिइएको छ । यो आयोजना सम्पन्न गर्नुपर्ने अन्तिम म्याद २०८३ वैशाख १२ गतेसम्म छ ।





































