वि.सं.२०८३ वैशाख ९ बुधवार

राष्ट्रिय सभामा पुगेका दुई गुल्मेली र एक दंगाली भाग्यमानी अनुहार

khanepani

रुपन्देही । राष्ट्रिय सभाको निर्वाचनमा दुई गुल्मेली र एक दंगाली भाग्यमानी अनुहार कांग्रेस–एमालेको गठबन्धनमार्फत लुम्बिनी प्रदेशबाट निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनमा एमालेबाट गुल्मीकी रामकुमारी झाँक्री, कांग्रेसबाट गुल्मीकै चन्द्र केसी र दाङका वासुदेव जंगली घिमिरे विजयी भएका हुन् ।

लामो समय पार्टीमा काम गरेका तीनै अनुहारमध्ये तुलनात्मक रुपमा कम उमेरको रहेकी हुन् झाँक्री । प्रतिनिधि सभामा गुल्मी २ बाट उम्मेदवारको रस्साकस्सीका रहेकी उनी राष्ट्रिय सभामा मनोनयन दर्ता गर्ने अघिल्लो दिन राति अकस्मात पार्टी अध्यक्ष केपी ओलीको छनौटमा परेकी थिइन् । सुरुमा अहिलै नजाने मनसाय बनाएकी उनी सहजै ६ वर्षे कार्यकालको सम्मानित पदमा पार्टी अध्यक्षले नै प्रस्ताव गरेपछि रातारात काठमाडौँबाट दाङको घोराही पुगेर मनोनयन गरेकी थिइन् ।

विद्यार्थी राजनीतिबाटै चर्चामा रहेकी झाँक्री आफूलाई लागेको कुरा प्रष्ट भन्ने नेतृको पहिचान बनाएकी छन् । यही कारण बेलाबेलामा उनी चर्चामा आउँछिन् । २०३४ सालमा गुल्मीको मयालपोखरीमा रत्नबहादुर र रत्नकुमारीकी छोरी हुन् । पहिलोपटक एमालेको विद्यार्थी संगठनमा २०६५ सालमा निर्वाचित भएपछि उनको चर्चा थप बढेको हो । अनेरास्ववियुको पोखरा महाधिवेशनबाट अध्यक्ष भएकी उनी त्यो पदमा निर्वाचित हुने पहिलो महिला हुन् ।

जनआन्दोलनको अग्रमोर्चामा खटिएकी उनी एमाले विभाजन भएसँगै माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा आबद्ध भएर सहरी विकास मन्त्री बनिन् । २०७९ मा तत्कालीन कांग्रेसमाओवादीसहितको ५ दलीय गठबन्धनबाट गुल्मी क्षेत्र नम्बर २ मा तत्कालीन एकीकृत समाजवादीको तर्फबाट उम्मेदार बनेर एमालेका गोकर्ण विष्टसँग प्रतिस्पर्धा गरेकी थिइन् । तर विष्ट नै विजय भए ।

कार्तिक २५ गते एमालेमै समायोजन भएर पार्टीको ११ औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएकी उनी गुल्मी क्षेत्र नम्बर २ बाट नै प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न सिफारिससमेत भएकी थिइन् । तर पार्टीले उनलाई राष्ट्रिय सभा सदस्य बनाएको छ । एमालेमा समायोजन भएको साढे २ महिनामै उनलाई यो पदमा पुराएपछि उनीसँगै एमालेमा समायोजन भएकाले आत्मसम्मान भएको भन्दै प्रशंसा गरेका छन् ।

देउवा पक्षमा अटल चन्द्र केसीः गगन नेतृत्वमा हुँदा पनि अवसर

गुल्मीमा नेपाली कांग्रेसको देउवा पक्ष अन्य जिल्लाको तुलनामा पहिलेबाटै कम थियो । तर चन्द्र केसीले देउवाको पक्षमा निरन्तर लागिरहे । २०५६ सालमा गुल्मी २ को उम्मेदार बनेका केसीले त्यो अघि नै जिल्लाको जिविस सभापति संंहालिकसकेका थिए ।

पार्टीको जिल्ला सभापति भइसकेका उनी जिल्लामा आफ्नो पक्षमा थोरै संख्या हुँदा पनि विचलित भएनन् । अहिले पनि उनी देउवा पक्षबाटै सिफारिस भएका थिए तर विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा आएपनि पूर्वसहमति फेरबदल नभएपछि उनको भाग्य खुलेको हो । रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा ज्ञानबहादुर केसी र सुमित्रा केसीको कोखबाट २०१३ सालमा जन्मिएका चन्द्रबहादुर बहुदलीय व्यवस्थापछि गुल्मीमा चर्चित नाम हो । तर २०५६ साल र २०७४ सालमा प्रतिनिधि सभामा हारेपछि उनी गुमनाम थिए।

२०४९ सालमा जिविस गुल्मीको सभापति बनेका उनी २०६७ सालमा नेपाली कांग्रेस गुल्मीको पार्टी सभापति भएका थिए । निरन्तर राजनीतिमा लाग्ने र सादा जीवनशैली भएका नेताको पहिचान बनाएका उनले २०२९ सालदेखि नेविसंघबाट राजनीतिक यात्रा सुरु गरेका थिए । राजनीतिक यात्राका क्रममा जेलनेल र यातना भोगेका केसीलाई यो जिम्मेवारी पुराएर पार्टीले न्याय गरेको धेरैले जनाएका छन् ।

बासुदेव जंगलीको संघर्षशील यात्रा

नेपाली कांग्रेसको क्षेत्रीय सभापति भएका दाङको लमही नगरपालिका–२ का वासुदेव जंगली घिमिरे अनुभवी र पुराना नेता हुन् । अपाङ्गता क्लस्टरबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित उनलाई कांग्रेसका पुराना र संघर्षशील नेताका रूपमा चिनिन्छ । उनले पार्टीका विभिन्न तहमा रहेर लामो समयदेखि सङ्गठन निर्माण र राजनीतिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए । घिमिरेको राजनीतिक यात्रा २०२९ सालमा नेपाल विद्यार्थी संघबाट सुरु भएको हो ।

त्यसपछि उनी तरुण दलमा सक्रिय भए । २०४० सालमा नेपाली कांग्रेसको जिल्ला सदस्य बनेका उनी अञ्चल तहमा समेत पार्टी जिम्मेवारीमा रहेर काम गरेका थिए । उनले तरुण दलको केन्द्रीय उपाध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका छन् । उनले बनारस क्षेत्रमा नेविसंघ अध्यक्ष बनेर सङ्गठन विस्तारमा महत्त्वपूर्ण योगदान दिएका थिए । उनी नेपाली कांग्रेसको क्षेत्रीय सभापति भइसकेका छन् । निरन्तर राजनीतिक संघर्ष, सङ्गठन निर्माण र पार्टीप्रतिको प्रतिबद्धताका कारण पार्टीले उनलाई अहिले साझा उम्मेदवारको रूपमा अगाडि सारेको हो ।

ranechhap