नयाँ दिल्ली । रसुवा जिल्लाको उत्तरी सीमावर्ती क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट टिमुरे, रसुवागढी, त्रिशूलीलगायत क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाली समाज भारतले बाढी प्रभावितका लागि २१ लाख २१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
नेपाली समाज भारतको पहलमा भारतका विभिन्न राज्य तथा नगर समितिका नेता, कार्यकर्ता, सदस्य, शुभेच्छुक तथा नेपाली समुदायबाट संकलित रकम नेपाली राजदूतावास, नयाँ दिल्लीमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
सहयोग रकम हस्तान्तरणका लागि नेपाली समाज भारतको प्रतिनिधिमण्डल नेपाली राजदूतावास, नयाँ दिल्ली पुगेको थियो। प्रतिनिधिमण्डलले कार्यवाहक नेपाली राजदूत डा. सुरेन्द्र थापामार्फत सहयोग रकम हस्तान्तरण गरेको जनाएको छ।
कार्यक्रममा नेपाली समाज भारतका केन्द्रीय सहसंयोजक आरबी खड्काको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी भएको थियो। सहसंयोजक वेदप्रकाश भण्डारी तथा सदस्यहरू मानु श्रेष्ठ, नारायण विक, दीपक जिसी, माइकल क्षेत्री र नारायण विष्टलगायतको सहभागिता थियो। समाजसेवी लक्ष्मी रावत पनि कार्यक्रममा उपस्थित थिइन्।
नेपाली समाज भारतले विपद्को यस कठिन समयमा प्रभावित नागरिकको जीवनरक्षा, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्नु आफ्नो सामाजिक दायित्व भएको जनाएको छ। साथै, बेपत्ता नागरिकको खोजी तथा प्रभावित परिवारलाई राहत उपलब्ध गराउने कार्यमा आवश्यक सहयोगका लागि प्रतिबद्ध रहेको जनाएको छ।
सहयोग अभियानमा भारतका विभिन्न स्थानबाट आर्थिक तथा अन्य सहयोग गर्ने संगठनका सदस्य, नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुक तथा सम्पूर्ण नेपाली समुदायप्रति नेपाली समाज भारतले धन्यवाद तथा आभार व्यक्त गरेको छ।
यसैबीच, नेपाली समाज भारतका केन्द्रीय सदस्य तथा पनवेल नगर समितिका इन्चार्ज लोकेश विकले सहयोग अभियान तथा रकम हस्तान्तरणसम्बन्धी जानकारी दिएका छन्।
नेपाली राजदूतावासले पनि बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग गरेकोमा नेपाली समाज भारतलगायत सम्पूर्ण सहयोगीप्रति धन्यवाद तथा आभार व्यक्त गरेको जनाएको छ।
विपत्तिमा एकता, दुःखमा सहकार्य र राष्ट्रका लागि हाम्रो योगदान’ भन्ने भावनासहित नेपाली समाज भारतले विपद्को समयमा प्रभावित नेपाली नागरिकको साथमा रहने प्रतिबद्धता जनाएको छ।








































