काठमाडौं । नेपाल बार एशोसिएशनकी पूर्वमहासचिव अञ्जिता खनालले अदालतको सुशासनको पक्षमा नेपाल बार एशोशियसन मौन रहेको बताएकी छन् ।
उनले अदालतमा नयाँ कानुन व्यवसायीले काम गर्न सक्ने अवस्था नरहेको बताएकी छन् । अदालतको सुशाशनको पक्षमा एशोशियसनले काम गर्नुपर्ने भन्दै मुद्दा दर्ता र फैसलाका विषयमा देखिएका विकृतिविरुद्ध एशोशियसनले आवाज उठाउनु पर्ने बताइन् ।
उनले भनिन्, ‘पैसा नतिरी फैसला पाइँदैन ।’
कार्यक्रमको प्रमुख अतिथि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत छन् ।
खनालले नेपाल बार सेमिपोलिटिक्स भएको बताउँदै मानव अधिकार र सुशासनको क्षेत्रमा बारले भूमिका खेल्नुपर्ने बताइन् ।
उनले चुनाव निष्पक्ष र तोकिएकै समयमा गर्नका लागि बारको भूमिका र ध्यानाकर्षण हुनुपर्ने बताइन् ।
बारले जेनजी आन्दोलनका क्रममा न्यायालय जल्दा केही नबोलेको खनालले आरोप लगाइन् ।
‘कुनै पनि आन्दोलनले नछोएको न्यायलय जेनजी आन्दोलनले छोएको छ । त्यसमा छलफल गर्न आवश्कय छ । बारले ध्यान दिएको छैन । इकाइ बारले चासो दिएको छैन ।’ उनले भनिन् ।
उनले नीति निर्माणमा महिला अधिवक्ताको भूमिका बारे प्रश्न उठाएकी छन् ।
कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएशनले आज ‘बारे डे’ मनाइरहेको छ ।
एशोशियसनको ७० औँ स्थापना दिवस अवसरमा मनाइरहेको बारे डेको नारा ‘सामाजिक रुपान्तरण र समृद्धि : न्यायपालिका र बारको जनआस्थामा अभिवृद्धि’ तय गरिएको छ ।
नेपालको न्यायापालिकालाई स्वच्छ, निष्पक्षका साथै मुलुकमा संविधानवाद स्थापनाका लागि बार सदैव तत्पर रहने प्रतिबद्धता गरिएको बार एसोसिएशनका अध्यक्ष डा. विजयप्रसाद मिश्रले बताए । २०१३ साल पुस ७ गते स्थापना भएको बार एशोसिएशनले प्रत्येक वर्ष पुस ७ गते बार डे मनाउँदै आएको छ ।









































