काठमाडौँ । काठमाडौँमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिका-६ चुच्चेपाटी भाटभाटेनीस्थित सडकमा म.प्र.०३-००२ ख ४०६७ नम्बरको ट्रकले बा.८६ प ७४५७ नम्बरको स्कुटरलाई मंगलबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार बूढानीलकण्ठ नगरपालिका-१२ कपन बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका-६ घर भएकी २६ वर्षीया सीता तिमल्सिनाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको सामुदायिक स्तुपा अस्पताल चुच्चेपाटीमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधनका चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी काठमाडौँकै नागार्जुन नगरपालिका-४ सोल्टी दोबाटोस्थित सडकमा बा.प्र -०१-०३० च ६५०१ नम्बरको ईभी भ्यानको ठक्करबाट सोही नगरपालिका-१० घर भएका ६३ वर्षीय हरिचन्द्र लामिछानेको बुधबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता, बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१ धम्बोजीस्थित सडकमा भे.१ त ७७८४ नम्बरको ट्याक्टरले भे.१२ प ९४८७ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ५२ वर्षीय कर्ण बहादुर थापाको घट्नास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।









































