रुपन्देही । अविरल वर्षाका कारण बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत सिद्धबाबा नजिकै ठूलो पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । केही समययता सडकमा सवारी आवागमन पूर्णरूपमा ठप्प भएको त्यहाँस्थित प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दोभानका अनुसार सिद्धबाबा मन्दिर नजिकै कम्तीमा दुईदेखि तीन स्थानमा ठूलो चट्टान र माटोसहितको पहिरो खसेपछि सडक दुबैतर्फबाट अवरुद्ध भएको हो। प्रहरीका अनुसार तत्काल सडक खुल्ने सम्भावना न्यून रहेको छ।
सवारी साधनहरू बीचमै रोकिएका छन् भने जोखिमका कारण उद्धार कार्यमा समेत कठिनाइ भएको जनाइएको छ। निरन्तर वर्षा भइरहेकाले थप पहिरो खस्ने सम्भावना रहेको र सुरक्षालाई मध्यनजर गर्दै तत्काल ठूलो मेसिन पठाउन कठिन भएको जनाइएको छ। पहिरो पन्छाउन डोजरले जोखिमपूर्ण रहेको र ठूला चट्टानहरू खसिरहेको भनेर जान नमानेकोले कतिबेला सडक खुल्ने एकिन नभएको प्रहरीले जनाएको छ ।
यस क्षेत्रमा वर्षाको समयमा निकै लामो समय पहिलेदेखि नै पहिरो जाने कारणले गर्दा दुर्घटनाहरु बढेसंगै सरकारले सुरुङमार्ग निर्माण भइरहेको छ ।








































