काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घुस काण्डमा मुछिएका मन्त्रीहरूमाथि कारबाही प्रक्रिया अघि नबढाएको भन्दै सरकारमाथि नै प्रश्न उठाएको छ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद असीम साहले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकलाई जनताले कहिल्यै नबिर्सने टिप्पणी गरे।
उनले भने, ‘भिजिट भिसाको नाममा मानव तस्करहरूको फाइल कहाँ पुग्यो भनेर म गृहमन्त्रीज्यूलाई सोध्न चाहन्छु। जनताले यो प्रकरण बिर्सिन्छन् भनेर गल्ती नगर्नुहोला। जनताले बिर्सिने छैनन्, हामी कुनै पनि हालतमा बिर्सिन दिने छैनौँ।’
उनले प्रधानमन्त्रीले रास्वपालाई व्यवस्था विरोधी र संसद् विरोधी भनेकोप्रति आपत्ति जनाए।
प्रधानमन्त्रीलाई जवाफ दिँदै उनले भने, ‘उम्रभर गालिब यही भूल कर्ता रहा, धूल चेहेरे पे थी और आएना साफ करता रहा। धुलो त ऐना हेर्ने तपाईँहरूकै मन्त्रिपरिषद्का सदस्यहरूको अनुहारमा लागको छ, अनि ऐना देखाउने रास्वपालाई गाली गरेर हुन्छ त ?’
उनले पूर्वमन्त्री राजकुमार गुप्ताको घुस डिलको अडिओपछि राजीनामा दिएपछि उन्मुक्ति दिइएको र अडिओमा नाम सुनिएका अर्का मन्त्री र पूर्व मन्त्रीलाई संरक्षण गरेको आरोप लगाए। राजीनामा भनेको भ्रष्टाचारको अपराधबाट मुक्ति पाउने गंगास्नान पो भएछ भन्दै कटाक्ष गरे।







































