दैलेख । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गको साङ्गेतरा क्षेत्रमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य यात्रुको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार विहिबार बिहान सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब ४०० मिटर तल खसेर कर्णाली नदीमा डुबेको थियो ।
घटनाको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको टोली घटनास्थलमा पुगेर खोज तथा उद्धार कार्य सुरु गरेको थियो । उद्धारका क्रममा नदीमा डुबेको अवस्थामा रहेको गाडीबाट एक पुरुषलाई बाहिर निकालेर नगर अस्पताल दुल्लु लगिएको थियो । उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
मृतकको पहिचान कालिकोटको पचालझरना गाउँपालिका–९ निवासी ५४ वर्षीय जेखे तिरुवाका रूपमा भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनाग्रस्त गाडीमा कति जना यात्रु सवार थिए भन्ने यकिन हुन सकेको छैन । प्रारम्भिक अनुसन्धानका आधारमा गाडीमा करिब पाँचदेखि छ जना यात्रु रहेको अनुमान गरिएको छ । अन्य यात्रुको पहिचान र अवस्थाबारे अनुसन्धान तथा खोजी जारी छ ।
दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासीको समन्वयमा खोज तथा उद्धार कार्य निरन्तर सञ्चालन भइरहेको छ । सशस्त्र प्रहरी बलका छ जना तालिमप्राप्त गोताखोरको टोली पनि नदीमा परिचालन गरिएको छ ।
यस घटनासम्बन्धी कुनै भरपर्दो जानकारी भएमा तत्काल जिल्ला प्रहरी कार्यालय दैलेखलाई जानकारी गराइदिन तथा खोज तथा उद्धार कार्यमा आवश्यक सहयोग गरिदिन प्रहरीले सबैसँग अनुरोध गरेको छ ।






































