काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक संसद्बाट पारित भएपछि खुसी व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले प्रतिनिधि सभाबाट विधेयक पारित भएकामा खुसी व्यक्त गर्दै विश्वविद्यालयको भौतिक तथा शैक्षिक संरचना निर्माणलाई द्रुत गतिमा अगाडि बढाउन सम्बन्धित सबै पक्षहरूलाई आग्रह समेत गरेका छन् ।
जनस्वास्थ्य विज्ञानका क्षेत्रमा नेपालकै पहिलो विश्वविद्यालयको स्थापना सुदूरपश्चिम मात्र नभई समग्र देशकै स्वास्थ्य क्षेत्रमा एक निर्णायक उपलब्धि सावित हुने उनको विश्वास छ ।
उनले फेसबुकमा लेखेका छन्,‘मेरो प्रधानमन्त्रीत्वको पहिलो कार्यकालमै उच्च प्राथमिकता दिँदै यस विश्वविद्यालय स्थापनाको पहल सुरु गरेको थिएँ। तेस्रो कार्यकालमा विधेयक तयार गरेर संसद्मा दर्ता गरिएको र अन्ततः आज विधेयक पारित भएको छ, जसमा सुदूरपश्चिम क्षेत्रका सबै माननीय सांसद, जनप्रतिनिधि, अग्रज व्यक्तित्व र नागरिक समाजको उल्लेखनीय साथ र समर्थन रह्यो।’
सबैको साझा प्रयासले विश्वविद्यालय निकट भविष्यमा एक उत्कृष्ट शैक्षिक तथा स्वास्थ्य सेवा केन्द्रका रूपमा स्थापित हुने उनले बताए । आइतबार प्रतिनिधि सभाबाट सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक पारित भएको थियो ।









































