वि.सं.२०८३ वैशाख १९ शनिवार

भारतीय तीर्थयात्रीको केन्द्र प्युठानको स्वर्गद्वारी, यसरी धानेको छ आर्थिक स्रोत

khanepani

प्युठान । भारतको बलरामपुरका रवि कौशल धेरै पटक साथीहरु र परिवारसहित प्युठानको स्वर्गद्धारी आश्रम दर्शनका लागि आउँछन् । दुई दिन बिदा परेको समय मिलाएर उनी यहाँ आउने र आफूले समस्या परेका विषयहरु त्यहाँ सुनाएपछि पूरा भएको विश्वास लागिरहेको बताउँछन् ।

‘महाप्रभुको पालादेखि नै हाम्रा अग्रजहरु यहाँ आउन थालेको र हामीले पनि यसमै विश्वास लिएका छौं, म व्यवसायी हो, केही समस्या परेको समयमा प्रभुलाई भाकल माग्छौं, अनि चढाउन आउँछौं’ उनले भने । अहिले साथीहरुसँग आएको र अब केही दिनमा परिवारसहित आउने उनले सुनाए ।

रविसँगै आएका उमेश शर्मा भने दोस्रोपटक यहाँ आएका हुन् । रविका साथी उमेश महाप्रभुको दर्शनसँगै नेपालका पहाडी सौन्दर्यता हेर्नका लागि दुई साताअघि आएको बताए । ‘भारतको बलरामपुरबाट दाङको कोइलाबास नाकाबाट आउने बाटो धेरै सहज रहेछ, यहाँको वातावरणले लोभ्यायो, म पनि परिवार र साथीहरुलाई लिएर आउने हो’ उनले भने । भारतको उत्तरप्रदेशबाट स्वर्गद्वारी आएका आशिष शर्माले बैशाख महिनामा यहाँ पुगे पूण्य हुने धेरैले बताएकाले आएको बताउँछन् ।

लुम्बिनी प्रदेश अन्तर्गत पहाडी जिल्ला प्युठानको दक्षिणपूर्वी भेगमा अवस्थित स्वर्गद्वारी केही वर्षयता भारतीय तथा नेपाली हिन्दू धर्मालम्बीको प्रमुख तीर्थस्थलका रूपमा स्थापित हुँदै आएको छ । धार्मिक आस्थाको धरोहर मात्र नभएर प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा र पहाडी पर्यटनको सम्भावनाले भरिएको यो स्थल अब भारतीय पर्यटकहरूका लागि गन्तव्यबिन्दु बन्न थालेको छ ।

स्वर्गद्धारी आश्रमको मुख्य स्रोत भारतीय पर्यटकले चढाउने रकम, अन्न र अन्य सामग्री नै हो । आश्रमको मन्दिर प्रशासनको जिम्मेवारीमा रहेका देवता गुरुले आश्रममा हुने सबै खर्चको मुख्य स्रोत भारतीय पर्यटक नै भएको बताउँछन् ।

‘उताबाट नआए त हामीले ६ महिना पनि खर्च चलाउन सक्दैनौ, यहाँ दैनिक खाना खाने नै ५ सय भन्दा बढी छन्, विद्यालय चलेको छ जहाँ १२० जना विद्यार्थीहरुले नियमित अध्ययन गर्छन्, गाईको संख्या पनि उत्तिकै छ, अन्य प्रशासनिक खर्च पनि उस्तै छ’ उनले भने ।

उनका अनुसार भारतीय पर्यटक आउने समयमा व्यवस्थापन गर्न समस्या पर्नेहुन्छ । ‘एकैपटक दैनिक ६–७ हजारसम्म आउने चलन छ तर यहाँ व्यवस्थापन ४–५ सयको मात्रै गर्न सकिन्छ, आएर उनीहरु रातभर बसेर अर्कोदिन दर्शन गरेर भाकल गरेअनुसार चढाएर जाने गर्दछन्’उनले भने । बैशाख पूर्णिमालाई केन्द्र मानेर बैशाख र ज्येष्ठ तथा वर्षापछिको सिजनमा उनीहरु यहाँ आउने सिजन हो तर अहिले अझै गतसालजस्तै आएका छैनन् ।

ऐतिहासिक पृष्ठभूमि

स्वर्गद्वारीको इतिहास नेपालमै विशिष्ट छ । हिन्दू मान्यताअनुसार यहाँ स्वर्गको ढोका खुलेको स्थान भनेर विश्वास मानिन्छ । १९५२ सालतिर स्वामी हंसानन्द नामक योगीले तपस्या गरी यो स्थानलाई धर्मकर्मको केन्द्र बनाएका थिए । जसलाई महाप्रभुका नामले चिनिन्छ ।

स्थानीयहरूका अनुसार स्वामीजीले १२ वर्षसम्म गुफामा ध्यान गर्दै स्वर्ग प्राप्तिको मार्ग उद्घाटन गरेको विश्वास गरिएको छ । त्यसैले यहाँको मूल गुफालाई ‘स्वर्गद्वार गुफा’ भनिन्छ । स्वामी हंसानन्दको निधनपछि पनि यहाँको गुठी व्यवस्थापन, गोशाला सञ्चालन र पवित्र अग्नि संरक्षणलाई निरन्तरता दिइएको छ ।

विशेषतः बली, पशुवध निषेध, गाईको संरक्षण र वैदिक अनुष्ठानले स्वर्गद्वारीलाई विशिष्ट धार्मिक केन्द्र बनाएको छ । आज पनि यहाँ अखण्ड धुनि बलिरहेको छ, जसले हजारौं भक्तजनलाई आध्यात्मिक सान्त्वना दिने काम गरिरहेको छ । अहिले यहाँ रहेका देवता गुरुका अनुसार यहीँ धार्मिक विश्वासले नेपाल भारतका अनुयायीहरुको केन्द्र बनेको हो ।

भारतीय तीर्थयात्रीको आकर्षण

भारतको उत्तर प्रदेश, बिहार, मध्य प्रदेश, झारखण्डजस्ता राज्यबाट हजारौंको संख्यामा श्रद्धालु स्वर्गद्वारी आइपुग्ने गरेको यहाँका व्यवसायीहरुले बताएका छन् । विशेषतः कार्तिक, माघ र वैशाख महिनामा यहाँको भीड अत्यधिक हुन्छ । यिनले यहाँ धर्मकर्म गर्नुका साथै नेपाली संस्कृतिसँग पनि घुलमिल हुने गरेका छन् ।

भारतीय तीर्थयात्रीहरूका लागि स्वर्गद्वारीको मुख्य आकर्षण भनेको यहाँको धार्मिक शान्ति, पवित्र गोशाला, अखण्ड अग्नि र स्वामीजीको समाधि हो । धेरैजसो पर्यटक नेपालगञ्ज, भैरहवा, बुटवल वा दाङ हुँदै प्युठान पुग्ने गरेका छन् । भारतीय पर्यटकहरूका लागि नेपाल प्रवेश सजिलो भएकाले उनीहरू लामो समयको धार्मिक यात्राका क्रममा स्वर्गद्वारी आउने गरेका छन् ।

कहाँबाट पुग्ने कसरी पुग्ने स्वर्गद्वारी ?
प्युठानको स्वर्गद्वारी पुग्न केही प्रमुख मार्गहरू छन्:

१. बुटवल–भालुवाङ–प्युठान मार्ग

यो मार्ग लुम्बिनी प्रदेशको रूपन्देहीबाट सुरु हुन्छ । बेलहिया हुँदै भैरहवादेखि बुटवलबाट भालुबाङ हुँदै करिब ५ घण्टाको सवारी यात्रा हुन्छ । अहिले पक्की सडक बनिसकेको भए पनि झरनातर्फ झुकिएको भिरालो बाटो भएकाले वर्षायाममा सवारी अवरोध हुने गरेको छ । यसैगरी कपिलवस्तुको कृष्णनगर नाका र दाङको कोइलावास नाकाबाट आएका भारतीय पर्यटकहरू पनि यही मार्गबाट जाने गरेका छन् ।

२. नेपालगञ्ज–लमही–घोराही मार्ग

भारतको उत्तर प्रदेश राज्यको बहराइच वा बहराइच–नेपालगञ्ज नाकाबाट नेपाल प्रवेश गर्नेहरू नेपालगञ्ज–कोहलपुर दाङको हुँदै घोराही आइपुग्छन् । घोराही नजानेहरु भालुवाङको बाटो हुँदै आउँछन् । घोराहीबाट प्युठानतर्फको स्वर्गद्धारी माथिल्लो बाटो डेढ घण्टाको छ ।

३. रोल्पाबाट आउने यस्ता छन् मार्ग

रोल्पाको होलेरी, लिवाङ सुलिचौरबाट पनि यहाँ पुग्नसकिन्छ । पर्यटक, विशेषतः पदयात्राका सौखिनहरूका लागि यो मार्ग उपयुक्त हुन्छ । यो क्षेत्रबाट आउने पदयात्रीहरूले शुद्ध प्राकृतिक दृश्यहरू अवलोकन गर्दै स्वर्गद्वारी पुग्न सक्ने वैकल्पिक बाटो रोज्ने गर्छन् । मध्यपहाडी लोकमार्गको रोल्पाबाट, मदन भण्डारी राजमार्ग, कृष्णसेन इच्छुक मार्गबाट पनि आउन सकिन्छ ।

बाटोको अवस्था हाल स्वर्गद्वारी जाने सडकहरूको अवस्था सुधारोन्मुख छ । बुटवल–भालुबाङ–बिजुवार खण्डमा दुईतर्फी सवारी चल्ने पक्की सडक छ । तर, बिजुवार–स्वर्गद्वारी खण्ड अझै पनि खतरापूर्ण छ । खासगरी वर्षातको समयमा पहिरो र चिप्लो सडकका कारण दुर्घटनाको सम्भावना रहन्छ ।

प्रदेश सरकार तथा प्युठान नगरपालिकाले स्वर्गद्वारीलाई विशेष धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने योजना ल्याइसकेको भए पनि अझै पूर्ण रुपमा पूर्वाधार तयार हुन बाँकी छ । विशेषतः विश्राम स्थल, खानेपानी, शौचालय र पर्यटक सूचना केन्द्रको कमी अनुभव गरिएको छ ।

स्वर्गद्वारीको प्राकृतिक सौन्दर्य

स्वर्गद्वारी २१०० मिटरको उचाइमा अवस्थित छ । यहाँबाट रोल्पा, रुकुम, दाङ र गुल्मीका हिमाल–पहाडको दृश्यावलोकन गर्न सकिन्छ । बिहानको घामसँगै हिमालमाथि पर्ने सुनौलो आभा, रातिको चन्द्रमा र ताराहरूले वातावरणलाई स्वर्ग समान बनाउँछ ।

पाखाभरिका गुराँसका बोटहरू, जडीबुटी, सुगन्धित वनस्पति र चराचुरुङ्गीहरूको आवाजले स्वर्गद्वारीको प्राकृतिक सौन्दर्यतालाई अझ उचाइ दिएको छ । गौशालाका सयौँ गाईहरूको संरक्षण पनि यहाँको पर्यावरणीय सन्तुलनमा योगदान पुर्याइरहेको छ ।

स्थानीय अर्थतन्त्रमा पर्यटकीय प्रभाव स्वर्गद्वारी क्षेत्रको विकासले प्युठानको स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ । होटल, लज, गाइड सेवा, घोडा÷डोको यातायात सेवा र कृषि उत्पादनको बजार बिस्तार भएको छ । विशेषतः स्थानीय युवाहरूले गाइड र व्यवसायिक सेवा सुरु गरेका छन् ।

भारतीय पर्यटकले दिनहुँको उपभोग्य सामग्री, धार्मिक पूजापाठका सामान खरिद गर्दा स्थानीय व्यवसायीहरूलाई प्रत्यक्ष लाभ पुगेको छ। यसले पलायन कम गरी स्थानीय रोजगारी सिर्जना गर्ने काम गरेको छ ।

तर महत्वपूर्ण पर्यटनको पक्की बनाउन, विश्राम गृहहरू निर्माण गर्न र पर्यटक सूचना केन्द्र स्थापना गर्न आवश्यक रहेको यहाँ आउने पर्यटकले सुझाएका छन् ।
योसँगै अत्यधिक उचाइका कारण पर्यटकलाई अकस्मात् स्वासप्रश्वास वा चिसोका असर पर्ने हुँदा प्राथमिक उपचार केन्द्र अनिवार्य रहेको उनीहरुको भनाइ छ । सफा र व्यवस्थित वातावरणः प्लास्टिकमुक्त क्षेत्र घोषणा गर्दै फोहोरमैला व्यवस्थापन गर्न सकिने उपाय अपनाउनुपर्ने उनीहरुको सुझाव छ ।धार्मिक पर्यटन प्रवद्र्धनः विशेष पर्वहरूमा मेलाको आयोजना र सांस्कृतिक कार्यक्रममार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।

लुम्बिनी प्रदेशका ग्रामीण विकास मन्त्री रोज राणाले भारतका कोटि–कोटि श्रद्धालुहरूका लागि यो ‘पारलोकिक शान्ति’ प्राप्त गर्ने स्थल बनेकोले यसलाई संघ,प्रदेश र स्थानीय तहले यस क्षेत्रमा पूर्वाधार विकासमा लगानी बढाउने हो भने स्वर्गद्वारी दक्षिण एशियाकै महत्वपूर्ण आध्यात्मिक पर्यटन केन्द्र बन्न सक्ने बताउँछन् ।

जिल्लाबाट प्रतिनिधि सभा सदस्य रहेका सूर्य थापा स्वर्गद्वारी अब केवल धार्मिक स्थल मात्र नभई नेपाली पर्यटनको महत्वपूर्ण गन्तव्यको रूपमा उभिएको बताउँदै आएका छन् । उनले त्यहाँ पुग्ने बाटोहरू स्तरोउन्नति, पर्यटकले पाउने सेवाहरूको अझै पूर्ण व्यवस्थापन नभएकोले तीनै तहका सरकारको ध्यान केन्द्रीकृत भएको बताएका छन् । ‘भारतीय तिर्थयात्रीकै भरमा आश्रमको ठूलो आन्तरिक स्रोत व्यवस्थापन भएको छ, सडक पूर्वाधारमा हामीले धेरै मेहनत गरेर यो अवस्थामा पुराएका छौं’ उनले भने ।

ranechhap