वि.सं.२०८२ जेठ १ बिहीवार

मधेशका सभामुखको रुलिङ “मोबाइलमा गेम नखेल्नुस्!”

जनकपुरधाम । मधेश प्रदेशसभामा विधेयकमाथि चलफल चलिरहँदा सांसदहरू मोबाइलमा व्यस्त रहेपछि सभामुखले रुलिङ नै गर्नुपरेको छ ।

आज प्रदेशसभामा स्थानीय सेवाको गठन, संचालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल जारी छ । छलफल चलिरहँदा उपस्थितमध्ये अधिकांश सांसद मोबाइलमा व्यस्त देखिए । जबकी प्रदेशसभामा मोबाइल निषेध छ ।

कानून कस्तो बनाउने जस्तो गम्भीर विषयमा छलफल चल्दा पनि धेरै सांसदले मतलब नराखेको टिप्पणी बढ्ने गरकेो छ । सांसदहरू कोही मोबाइल गेम (क्यान्डीक्रस) मा व्यस्त हुन्छन्, कोही सोसल मिडिया हेरेर समय काट्छन् ।

कानून बनाउने सांसदहरु नै सदनको मर्यादा उल्लंघन गर्दा सभामुख रामचन्द्र मण्डलले रुलिङ नै गरे । उनले भने, ‘मोबाइल कि त स्वीच अफ गर्नुपर्‍यो कि त साइलेन्ट गर्नुपर्‍यो । मोवाइल चलाएर गेम खेल्ने काम कृपया नगर्नुहोला ।’

सभामुख मण्डलले रुलिङ नगर्नुपर्ने विषय भएपनि गर्नुपरेकोले सिरियसली लिन सांसदहरुसंग निर्देशन दिए । उनले मोबाइल बैठकमा नचलाउन यसअघि पनि पटक पटक रुलिङ गरेका थिए ।