वि.सं.२०८३ वैशाख १७ बिहीवार

हेलिकोप्टरलाई कोभिडमाथि तुवाँलो संकट, चार दिनदेखि काठमाडौंमा उडान ठप्प

khanepani

काठमाडौं । हेलिकोप्टर व्यवसायीलाई कोरोना भाइरसको संकटमाथि तुवाँलो संकट थपिएको छ । काठमाडौंको आकासको भिजिविलिटी हावाको पारदर्शीपन कमजोर बनेसँगै सबै हेलिकोप्टर ग्राउण्डेड बनेका छन् । मनाङ एयरका प्रवन्धक राजु न्यौपानेका अनुसार हेलिकोप्टर पाइलटको नांगो आँखाले देखेको भरमा उडाउनु पर्ने एयरक्राफ्ट हो । सोहीकारण उपकरणका माध्यमबाट उडान अवतरण गर्न सकिने जहाजहरुले मात्र धुलाम्य आकाशका बीचमा उडान गर्न सकेका छन् ।

हेलिकोप्टरको उडान अवतरण भने प्रभावित बनेको छ । ‘कोरोनाले यसै थलिएका कम्पनी चार दिनदेखि ठप्प छन्, उनले भने, ‘प्रकृति र मौसमको बाटो हेर्दै बसेका छौं । अहिले आकस्मिक अवस्थामा पनि काठमाडौं स्थित त्रिभुवन विमानस्थलबाट हेलिकोप्टर उड्न सक्दैनन् । यस्तो अवस्थामा नेपाली सेनाको हेलिकोप्टर उडाउने गरिन्छ । हेलिकोप्टरका लागि भने नागरिक उड्डयन सम्बन्धी नियम लाग्दैन । सोही कारण आपतकालिन अवस्थामा भने सेनाले कम भिजिविलिटीमा समेत हेलिकोप्टर उडाउने गर्छ ।

हेलिकोप्टरका लागि मुख्य विजनेश दिने वर्ग पर्यटक हुन् । पदयात्रा र पर्वतारोहणमा जाने पर्यटकको संख्या जति बढी भयो, हेलिकोप्टरको विजनेश पनि उत्तिकै हुने गर्छ । तर, पर्यटक नआएपछि सन् २०२० को वसन्त ऋतुयता नै हेलिकोप्टरले विजनेश पाएका छैनन् । यसरी विजनेश गुमाएको ठ्याक्कै एक वर्ष पुगेको छ । जारी आरोहण सिजनमा पर्यटक आउने र केही मात्रामा भएपनि विजनेश पाउने आशामा व्यवसायी छन् । अहिले वायुसेवा सञ्चालक संघले हवाई व्यवसायमा एक वर्षको अवधिमा भएको क्षतिको विवरण संकलन गरिरहेको छ ।

यसैबीच नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरुको आर्थिक अवस्था विश्लेषण गर्ने भएको छ । सो प्रयोजनका लागि प्राधिकरणले हेलिकोप्टर कम्पनीहरुबाट उनीहरुको अहिलेको अवस्था के छ भन्ने सम्बन्धी विवरण माग गरिएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए । हामी आगामी बजेट, नीति तथा कार्यक्रमको तयारीमा छौं, उनले भने, सोही प्रयोजनका लागि सबै कम्पनीहरुबाट उनीहरुको आर्थिक अवस्था के छ भन्नेबारे विवरण माग गरेका छौं । यसले आगामी बजेटमा एयरलाइन्स क्षेत्रलाई कसरी सम्बन्धी गर्ने भन्नेबारे धारणा बनाउन सहज हुने प्राधिकरणको भनाइ छ ।
हेलिकोप्टर सोसाइटी अफ नेपालका अनुसार लकडाउन खुलेर परिस्थिति सामान्य भएको अवस्थामा पनि कतिपय हेलिकोप्टर कम्पनीले सेवा नै शुरु गर्न सकेका छैनन् । सेवा शुरु गरेका हेलिकोप्टर कम्पनीले समेत एक एक वटा मात्र हेलिकोप्टरबाट सेवा थालेका छन् । तुवाँलो भन्दा अगाडि समेत दुई दर्जन हेलिकोप्टर विमानस्थलमा थन्किएर बसेका थिए ।

सोसाइटीको तथ्यांक अनुसार नेपालमा व्यस्त मौसममा एउटा हेलिकोप्टरले औसत मासिक १ सय घण्टासम्म उडान गर्ने गरेको थियो । हेलिकोप्टरले प्रतिघण्टा औसतः १७ सय डलरमा उडान गरिरहेका थिए । अहिले उडिरहेका हेलिकोप्टरको मासिक उडान समय साविकको तुलनामा आधा समेत पुग्दैन । यता, भाडा औसत ९ सय देखि १ हजार डलर प्रतिघण्टामा झरेको छ ।

अर्थातः हरेक उडानमा औसत ७ सय डलरसम्म घाटा बेहोर्नु परेको व्यवसायीहरुको भनाइ छ । यसमा थन्किएर बसेका हेलिकोप्टरको कमाई जोडिएको छैन । यसबाट मासिक करोडौं रुपैयाँ घाटा भइरहेको छ । एउटा मात्र हेलिकोप्टर हुने कम्पनीले आफ्नो संचालन खर्च धान्न मासिक औसत ५० घण्टासम्म उड्नुपर्ने सोसाइटीको अनुमान छ । त्यसभन्दा माथि उडान भएमा मात्र त्यो कम्पनीको नाफा हो ।

ranechhap