वि.सं.२०८३ असार १६ मंगलवार

अनावश्यक लकडाउन गर्ने पक्षमा छैनौं: स्वास्थ्यमन्त्री

khanepani

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् ।
बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरुको कुरा सुनेर लकडाउन गरेपनि अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताएका हुन् ।

उनले यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको भन्दै अब लकडाउन नै समाधान हो भन्ने किसिमबाट सरकार नजाने बताए । मन्त्री खतिवडाले सरकार स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेकोले लकडाउन हुन्छ भनेर आत्तिनु नपर्ने बताए ।

मन्त्री खतिवडाले भने,‘शुरुका बेलामा आतंक बढी भएको हुनाले एक, दुई वटा सामान्य लक्षण देख्दा पनि यसको उपचार लकडाउन भनेर गर्‍यौं । जति जानेको थियो त्यति गर्‍यौं । विश्वमा, युरोपेली देशहरुमा लकडाउन भनेको सुन्यौँ, यो नयाँ कुरा भयो, त्यसैअनुसार गर्‍यौं । हामी पनि आतंकित भयौँ । गर्नुपर्ने बेलामा गरेनौँ, अघि पछि गर्‍यौं । त्यसले केही मृत्युदर घटायो होला भन्ने अनुमान गर्न सकिन्छ । तर त्यसले परेको शैक्षिक क्षेत्रको असर, औद्योगिक, राजश्व, सामाजिक क्षेत्रका अनेक कामहरुलाई पुगेको क्षति, नदेखिने यो क्षति मृत्यु भन्दा पनि भयावह ढंगले भयो । त्यसैले अब हामी आत्तिएर, मात्तिएर लकडाउन नै समाधान हो भन्ने पक्षमा छैनौँ । आवश्यक्ता हेरेर खास ठाउँमा त्यो विचार पुर्या‍एर हामी लकडाउन गर्नेछौँ । सजिलैसँग लकडाउनमा जाँदैनौँ । आवश्यक्ताअनुसार ठाउँ विशेष गर्न सक्छौँ । त्यसैले तत्काल लकडाउनको विषयमा आतंकित हुनु पर्दैन । रोगव्याधको विषयमा पनि हामीले सकेसम्म नलागोस् लागे पनि हामीले सबै ठाउँमा आइसोलेशन वार्डहरु, आईसीयू, अक्सिजन, पहिलो भेरियन्टको बेला भन्दा दुई तीन गुणामाथि इक्वीपमेण्ट र टेण्ट भएका छौँ । नागरिकलाई असजिलो पर्दा सरकार तयारीका साथ बसेको छ । स्वास्थ्यकर्मीहरु हामीले तयारीका साथ राखेका छौँ ।’

मन्त्री खतिवडाले कोरोनाको तेस्रो भेरियन्टबाट बच्न होशियार रहनुपर्ने भन्दै मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न आग्रह गरे । उनले कोरोनाको पहिलो र दोस्रो डोज लगाएर सुरक्षित बस्न पनि आग्रह गरे ।

मन्त्री खतिवडाले विज्ञहरुले बुस्टर डोज लगाएपछि तेस्रो भेरियन्टबाट बच्न सहज हुने बताएकोले आउँदो माघ पहिलो हप्ताबाट अग्रपंक्तिमा रहेर काम गर्नेहरुलाई बुस्टर डोजको व्यवस्था गरिएको जानकारी दिए। उहाँले माघको दोस्रो हप्तामा ६० वर्ष माथिको उमेरसमूहका नागरिक र तेस्रो वा चौथो हप्ताबाट आम नागरिकहरुलाई कोरोना बिरुद्धको बुस्टर डोज उपलब्ध गराउने बताए ।

मन्त्री खतिवडाले स्वास्थ्यकेन्द्र जानका लागि सहज बनाउन सरकारले विद्यालयलाई नै खोप केन्द्र बनाएको उल्लेख गर्दै नजिकको खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरे ।

ranechhap